जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १०:४७

निर्वाचनको मुखमा अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्ति क्वारन्टीनमा


काठमाडौं, असोज १६

आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन् ।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताए । साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् । मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो ।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन् । बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘छोटो समयको छुट्टि समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड–१९ देखिएको छ । खराब भयो ।’

‘प्रथम महिला र म अहिले परीक्षणको नतिजा कुरिरहेका छौँ । त्यतिन्जेललाई हामीले क्वारन्टीन प्रक्रिया सुरु गर्नेछौँ ।’ क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ ।

बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताएका थिए । हिक्सले प्रायजसो मास्क लगाउने गरेको बताउँदै ट्रम्पले भने ‘हेरौँ के हुन्छ।’ (बिबिसीको सहयोगमा)