जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार २०:२०

सम्झना बिक बलात्कारपछि हत्या प्रकरण : अभियुक्तको बयान सुनेर प्रहरी नै चकित


कैलाली असोज १६ । बझाङको मस्टा गाउँपालिका–२ निवासी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरेका अभियुक्त राजेन्द्र बोहराको बयानले अनुसन्धानमा खटिएका प्रहरी नै त्रसित बनेको छ । पहिला नै एक बालिकाको बलात्कार गरिसकेका बोहोराले संझनालाई बलात्कार गरेपछि त्रिसुल रोपेर बिभत्स हत्या गरेको बयान दिएका हुन ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बोहोराले बलात्कार र हत्याको बिषयमा दिएको बयानले सवैका आँखा रसाएका थिए । ‘यति क्रुर हत्या पनि हुँदोरहेछ भन्ने लाग्यो,’ ती प्रहरीले भने । सम्झना बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी थिइन । सोही दिनको राति करिब सवा ९ बजे आफन्तले उनको शव भेटेका थिए । शव फेला परेलगत्तै आपन्तले प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।

सम्झनाको शव फेलापरेकै राति प्रहरीले सोही गाउँका बोहरालाई पक्राउ गरेको थियो । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार अभियुक्त बोहोराले प्रहरीसँगको बयानमा सम्झनाको बलात्कारपछि त्रिसुल रोपेर हत्या गरेको स्वीकार गरेका छन । ‘अभियुक्तले ढुंगाले हानेर र त्रिशूल रोपेर बालिकाको हत्या गरेको बताएका छन,’ एसएसपी सिंहले भन्नुभयो । प्रहरीले घटनास्थलबाट त्रिशूल बरामद गरिसकेको छ ।

प्रहरीका अनुसार हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । उनले साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सो घटनालाई पर्सिपल्ट ३१ गते आफन्तहरू बसेर मिलापत्र गरेका थिए । बोहराले गल्ती भएको भन्दै ५ सय रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरिएको प्रहरीले जनाएको छ । सोही घटनापछि बलात्कारी बोहोराको मनोवल बढेको प्रहरीको भनाई छ ।

सम्झनाको बलात्कारपछि हत्या गरिएको घटना बाहिर आएपछि भने आफन्तले सो घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएका छन ।