जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १६:२४

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या : २४ घण्टामा थपिए २२५३ जना संक्रमित


काठमाडौं, असोज १८

पछिल्लो २४ घण्टामा देशभर २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १० लाख ७४ हजार ४४८ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८२३ जना पुगेको छ । आज २२ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३२९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ११ हजार ८९३ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार २०३ रहेको छ ।