काठमाडौं, असोज १८
कोरोना संक्रमित संख्यामा नेपालले चीनलाई उछिनेको छ । कोभिड–१९ को उद्गमविन्दु चीनको वुहान शहरलाई मानिए पनि संक्रमण संख्यामा चीनलाई नेपालले आज उछिनेको हो । गत जनवरीमा पहिलोपटक चीनमा कोभिड–१९ को संक्रमित फेला परेको थियो । त्यसयता पछिल्लो १० महिनामा विश्वका झण्डै २ सय मुलुकमा यो भाइरस फैलिसकेको छ । यस समाचार तयार पार्दासम्म विश्वमा ३ करोड ५१ लाख ८२ हजार ६४५ जना कोरोनाबाट संक्रमित भएका छन् भने विश्वभर गरी १० लाख ३८ हजार ८१० जनाको ज्यान गइसकेको छ ।
चीनमा आजसम्म कुल संक्रमितको संख्या ८५ हजार ४५० रहेको छ । जसमध्ये ८० हजार ६ सय २१ जना संक्रमणमुक्त भएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका कारण ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा कोभिड–१९ को संक्रमण देखिएको झण्डै तीन महिनापछि गत चैत्रमा पहिलो संक्रमित पुष्टि भएको नेपालमा पछिल्लो ७ महिनामा कुल संक्रमित संख्या ८६ हजार ८२३ पुगेर चीनलाई समेत उछिनेको हो ।
आज मात्रै २२५३ जनामा कोरोना पुष्टि भएसँगै चीन भन्दा धेरै संक्रमित नेपालमा देखिएको हो । यस्तै नेपालमा मृत्यु हुनेको संख्या भने चीनको तुलनामा धेरै कम रहेको छ । हालसम्म नेपालमा ५३५ जनाको मृत्यु भएको छ भने हालसम्म ६४ हजार ६९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ तर चीनमा संक्रमण नियन्त्रणमा आइसकेको छ । त्यस्तै नेपाल कोरोना संक्रमण फैलिएको खराव देशको सूचिमा पनि ४५ औं नम्बरमा छ भने चीन ४६ नम्बरमा छ । खराव सूचिमा अमेरिका पहिलो स्थानमा छ भने भारत तेस्रो मुलुकमा रहेको छ । नेपालमा दिनानुदिन हजारको औसतमा संक्रमित थपिँदै गएको र यही औसतमा थपिदै गए नेपालले कोभिड–१९ संक्रमितको संख्यामा अन्य देशलाई समेत केही दिनमै पछि पार्ने अवस्था देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्