सिरहा, असोज १९ । पञ्चायती राखेर बलात्कारको घटना दवाउन पञ्च बन्नेहरु नेपाली कांग्रेस र जनता समाजवादीका नेता रहेको तथ्य खुलेको छ । पाँच लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कारीलाई उन्मुक्ति दिन लागेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि यस्तो तथ्य खुलेको हो ।
प्रहरीले बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित सहित नौ जनालाई पक्राउ गरी कार्वाही अघि बढाएको छ । पक्राउ परेकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता पनि रहेका छन । विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउदगार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । श्यामसुन्दर स्थानीय तह निर्वाचनमा राजपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए भने जगवीर र राजकुमार यादव कांग्रेसमा आबद्ध स्थानीय नेता हुन । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको छ ।
बिष्णुपुरका स्थानीय २० वर्षीय मुकेशकुमार साहले छिमेकी १६ वर्षीया किशोरीलाई असोज १२ गते बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । उक्त घटना थाहा पाएपछि सुरुमा स्थानीय नेताहरूले गाउँमै मिलापत्र गर्नुपर्ने दबाब बढाएका थिए । जसअनुसार आरोपित मुकेशका बुवा सिंहेश्वर र शत्रुघ्नलाई ऋणी बनाएर ५ लाख रुपैयाँको कपाली तमसुक गराइएको छ । जसमा गाउँकै धनी रामगुलाम यादव, लक्षुमण यादव खडा गरिएको छ । प्रहरीको अनुसन्धानमा बलात्कार घटना मिलाउन पञ्चहरूले नक्कली ऋणी र धनी खडा गरेको पाइएको छ ।
उनीहरूले बनाएको कागज (कपाली) पञ्चायतमा सहभागी जगवीरको जिम्मा राखिएको थियो । प्रहरीले जगवीरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरेको कागज फेला परेको हो । कपाली तमसुक बनाएर शनिबार (१७ गते असोज) मा गाउँमा ‘पञ्चायत’ बसेको थियो। स्थानीयका अनुसार छलफल भइरहेकै बेला कुटाकुट सुरु भयो। अरूले आरोपित र उनका आफन्तलाई कुटपिट गरे । त्यसपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्