जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार ०९:०३

ओली सरकाले ल्यायो शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारका क्षेत्रमा करिब एक दर्जन नयाँ कार्यक्रम


काठमाडौं, १६ जेठ । सरकारले बुधबार सार्वजनिक गरेको बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारका क्षेत्रमा करिब एक दर्जन नयाँ कार्यक्रम अघि सारेको छ ।

बजेट वक्तव्य अनुसार साक्षर नेपाल घोषणा गर्न साक्षरता अभियानको साथै विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय पठाऔं भन्ने अभियानको कार्यक्रम अगाडि सारेको छ ।

आगामी आर्थिक वर्षसम्ममा ७० जिल्लालाई पूर्ण साक्षर बनाउने उदेश्य बजेटले लिएको छ । यस्तै, राष्ट्रपति शैक्षिक सुधार कोष स्थापना गरी सामुदायिक शिक्षामा गुणस्तर अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने नयाँ कार्यक्रम बजेटले अघि सारेको छ । एक विद्यालय एक खेलकुद शिक्षकको अवधारणा अघि सार्दै बजेटमा सो कार्यक्रम कार्यान्वयनका लागि पाँच अर्ब विनियोजन गरिएको छ । बजेटले पारमाणविक, रेडियोधर्मी र विकिरणको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका लागि पारमाणविक अनुसन्धान केन्द्र स्थापनको कार्यक्रम पनि अघि सारेको छ । सो सम्बन्धी विधेयक समेत प्रतिनिधिसभामा विचाराधीन छ । अर्टिजम भएका व्यक्तिहरूको सुरक्षा र हेरचाह गर्ने संस्थाहरूलाई निश्चित कार्यविधिका आधारमा अनुदान दिने कार्यक्रम पनि बजेटले अघि सारेको छ ।

बजेटले बादी महिला आर्थिक र सामाजिक सशक्तीकरणका लागि आवास विकास योजना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । इन्जिनियरिङ पेशाको दक्षता अभिवृद्धि गर्न तथा नयाँ प्रविधिमा अध्यावधिक गराउन इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको सम्भाव्यता अध्ययनसम्बन्धी कार्यक्रम पनि बजेटमा राखिएको छ । काठमाडौँ उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, सङ्गीतको अवलोकन गर्न रात्रिकालीन काठमाडौँ उपत्यका सम्पदा यात्राको कार्यक्रम पनि बजेटले अघि सारेको छ ।

आगामी वर्ष छायाङ्कनका लागि नेपाल कार्यक्रमको सुरुआत गर्ने पनि बजेटमा उल्लेख छ । श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन कार्यक्रम सञ्चालन गरिने व्यवस्था पनि बजेटमा गरिएको छ ।  ज्ञानमा आधारित अर्थतन्त्र कार्यक्रमलाई पनि बजेटले अघि सारेको छ । जसका लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न खुमलटारमा राष्ट्रिय ज्ञान पार्क स्थापना गरिने पनि बजेटमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिकबाट