जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १८:५१

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषदबीच सम्झौता


बिराटनगर, असोज २७ । मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा सोमबार राति अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डाक्टर सुवासश्री पोखरेल र परिषद्का अध्यक्ष डाक्टर महावीर पुनबीच सम्झौता भएको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख पोखरेलका अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको हो । पोखरेलका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्ने छन् । मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य स्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्नेछ । सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउनु भयो । अनुसन्धानको जग बसाउने काम सुरू भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने उहाँको भनाई छ ।

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताउनु भयो । उहाँले सिर्जनशिल र प्रतिभाशाली व्यक्तिहरू अनुसन्धान गरी उद्यमी बन्न सक्ने धारणा पनि राख्नुभयो ।