जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ११:०३

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनद्वारा बडादशैंको शुभकामना व्यक्त


न्युयोर्क, कात्तिक २

डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसले हिन्दूहरुको चाड बडादशैँ (नवरात्री) को शुभकामना दिनुभएको छ ।

दुवै जनाले समाजिक सञ्जाल ट्विटरमार्फट शुभकामना दिनु भएको हो । राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले आफू र आफ्नी पत्नी जिलका तर्फबाट अमेरिकी र संसारभरका हिन्दूलाई शुभकामना दिनु भएको छ । ‘हिन्दू चाड नवरात्री शुरु भएको छ, जिल र म, अमेरिका र संसारभर उत्सव मनाइरहेकाहरुलाई शुभकामना दिन्छौँ। फेरि एकपटक राम्रोले खराबविरुद्ध विजय प्राप्त गरोस्, र सबैलाई नयाँ शुरुआत र अवसरका लागि शुभकामना’, उहाले भन्नुभएको छ ।

उपराष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले पनि श्रीमान् डोउग्लास इमहोफलाई मेन्सन गरेर दुवै जनाको तर्फबाट शुभकामना दिनुभयो । ‘डोउग्लास इमहोफ र म हाम्रा हिन्दू अमेरिकन साथीहरु र परिवार तथा नवरात्री मनाइरहेका सबैलाई शुभकामना दिन्छौँ । यो दिनले हामी सबैलाई हाम्रो समुदायलाई समृद्ध अमेरिकालाई न्याय र समावेशी बनाउन प्रेरित गरोस्’, उहाले लेख्नु भएको छ ।

ह्यारिसकी आमा श्यामला गोपालन ह्यारिस भारतीय मूलकी अमेरिकी हुन् । उनका बाबु डोनाल्ड ह्यारिस भने जमैकन मूलका अमेरिकी हुन् । डोनाल्ड र श्यामला छुट्टिएपछि उनी आमा श्यामलासँग हुर्किएकी हुन् । हिन्दूहरुको चाडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म शुभकामना दिनुभएको छैन । उहा ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वार पनि हुनुहुन्छ ।