जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १४:२७

परराष्ट्रमन्त्री ज्ञवालीद्धारा ‘ब्रेन गेन सेन्टर’ स्थापना


काठमाडौं

परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमताको पहिचान गरी नेपालको विकासमा प्रयोग गर्ने उदेश्यले ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो सेन्टरको उद्घाटन गर्नुभयो ।

सो सेन्टरमा अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका ४१ वटा देशका ४५६ जना आवद्ध भएका छन् । अमेरिकाबाट एक सय, अष्ट्रेलियाबाट ४२, क्यानडाबाट ३२, बेलायतबाट २०, जर्मनीबाट १९, दक्षिण कोरियाबाट १६ र जापानबाट जना रहेका छन् । सो सेन्टरले विदेशमा रहनु भएका विद्धवत वर्गलाई मातृभूमिको विकासमा योगदान गर्न प्रोत्साहन गर्ने, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरु र विदेशमा रहनु भएका विद्धत वर्गहरुबीच सम्पर्क कायम गराउने र ती क्षेत्रलाई आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सहजिकरण गर्नेछ । यसैगरी विदेशमा रहेका विद्धत वर्गलाई मुलुकको विकास प्रक्रियामा परिचालन गर्ने र उहाहरुले मुलुकको विकासमा गर्नु भएको योगदानको कदर गर्ने बताइएको छ ।

संविधानको धारा ५१ (घ) को उपखण्ड (१२) मा राज्यले गैर आवासीय नेपालीहरुको ज्ञान, सीप, प्रविधि र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति अबलम्बन गर्ने व्यहोरा उल्लेख भए अनुसार यो सेन्टर स्थापना गरिएको हो । विश्वका विभिन्न स्थानमा रहनु भएका नेपालीहरुको ज्ञान सीप र क्षमताको पहिचान गर्ने, अभिलेख गर्ने र मुलुकको विकासमा परिचालन गर्ने उदेश्यले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको डाटाबेस हो । यस केन्द्रले विश्वका विभिन्न स्थानमा रहनु भएका नेपालीहरुमा के कस्ता क्षेत्रमा उच्च स्तरका सीप÷क्षमताहरु छन्, उहाँहरले मातृभूमिप्रति क कस्तो योगदान गरिरहनु भएको छ, उहाँहरुको योगदानलाई थप संस्थागत र प्रभावकारी बनाउन के कस्ता उपायहरु अबलम्बन गर्न सकिन्छ भन्ने कुराहरुको यकिन गर्छ ।

यस केन्द्रले मुलुकलाई आवश्यक पर्ने उच्चस्तरको जनशक्तिको पहिचान गरी उपयुक्त क्षेत्रमा परिचालन गर्ने सहजिकरण गर्दछ । यस अभियानले विदेशमा रहेका नेपाली विद्धानहरुको मेहनत र उपलब्धिहरुको सम्मान पनि गर्नेछ ।