काठमाडौं, कात्तिक २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय देखिएको आन्तरिक विवादको मुल जड अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै रहेको तथ्यहरुले देखाएको छ । आफ्नो स्वार्थ पुर्तिका लागि सचिवालयका नेताहरुलाई झुटो कुरा सुनाएर प्रचण्डले पार्टी बिभाजनको रेखा कोर्न लागेको देखिएको हो ।
आफ्नो परिवारका सदस्यबाहेक अरुलाई अवसर नै नदिने योजनामा धक्का लागेपछि अध्यक्ष प्रचण्डले पहिलो बरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मनगढन्ते कथा सुनाएर नेता भडकाउने गरेको तथ्य स्वयं प्रधानमन्त्रीले खोलिसक्नु भएको छ । पछिल्लो समय ओली निकट नेताहरुले अध्यक्ष प्रचण्डले स्थायी कमिटी र केन्द्रीय सचिवालयको निर्णयअनुसार पार्टी एकताको काम सम्पन्न गरी चैतमा महाधिवेशन गर्ने कार्ययोजना ल्याउनुको सट्टा सरकारको काम कारवाहीमा निरन्तर अवरोध गर्दै आएको र आफ्नो स्वार्थ पूरा नहुने भए पार्टी नै बिभाजनतर्फ उन्मुख रहेको बताएका छन । बिभिन्न तथ्यहरुले पनि अध्यक्ष प्रचण्ड आफ्नो जिम्मेवारी पूरा गर्न असफ लबनेपछि सरकारतिर औला ठड्याएको देखाएको छ ।
अध्यक्ष प्रचण्ड कार्यकारी हैसियत पाएपछि पार्टी कामलाई अघि बढाउने तर्फ ध्यान नै नदिएर जिम्मेवारी पूरा गर्न असफल नेताका रुपमा देखिनु भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको यस कार्यकालभरी सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीका कामको संयोजन गर्ने जिम्मेवारी दिँदै दुई अध्यक्षको कार्यबिभाजन गरेको थियो । दुई अध्यक्षको प्रष्ट कार्यविभाजन गरेपनि प्रचण्डले अहिलेसम्म आफ्नो परिभाषित जिम्मेवारीअनुसार काम गर्नुभएको छैन । आफ्नो काम पनि नगर्ने, अरुलाई पनि काम गर्न नदिने बादर प्रवृत्ति देखाउँदै उहाँले सरकारबिरुद्ध वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ घरमा बोलाएर गुटबन्दी गरिरहनु भएको छ ।
भदौ २६ गतेयता प्रचण्डले सचिवालयका यी नेताहरुसामु पार्टी कामको बिषयमा एक शब्द पनि छलफल गर्नुभएको छैन । ‘प्रचण्डको आँखा छोरी, बुहारी, भाञ्जा भाञ्जी र आफन्तलाई कसरी स्थान दिने ? पार्टीमा कसरी बिग्रह ल्याउने भन्नेमै केन्द्रित देखियो,’ नेकपा स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने । कामप्रति जिम्मेवार नबनेपछि केही पाँच दिनअघि भएको भेटमा प्रधानमन्त्री ओलीले उहाँलाई स्थायी कमिटीको निर्णय स्मरण गराउँदै पार्टी काम संयोजन गर्न सुझाव दिनुभएको थियो ।
‘कार्यकारी अध्यक्षको जिम्मेवारी लिनुभएको वर्ष दिन पुग्न लाग्यो, तर यसबीचमा पार्टीलाई गति दिने र चैतमा महाधिवेसन गर्ने विषयमा सिन्को भाँच्ने काम पनि गर्नुभएन ? अहिलेसम्म पार्टीको के–के काम गर्नु भयो त ?,’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई गर्नुभएको प्रश्न उधृत गर्दै ती नेताले भने, ‘आफ्नो परिभाषित जिम्मेवारीतिर ध्यानै नदिने, पार्टी काम गर्दै नगरेर गुट बनाएर सरकारलाई घेराबन्दीमा पार्न मात्रै हो कार्यकारी अध्यक्षको जिम्मेवारी लिएको ? पहिला आफ्नो जिम्मेवारी पूरा गर्नाेस, त्यसपछि मात्रै अरुलाई प्रश्न गर्नुहोला ।’
प्रधानमन्त्रीको सुझावअनुसार अव पार्टी काम अगाडि बढाउने भन्दै अहिलेसम्म हुन नसकेको कामप्रति आत्माआलोचित बनेर फर्कनुभएका अध्यक्ष प्रचण्डले खुमलटार पुगेर भने ‘ओलीले अलग अलग जाऔं’ भने भन्दै अफवाह फैलाउनु भएको थियो । ‘उहाँले बालुवाटारमा एउटा कुरा भन्नुभयो, पार्टीको काममा ध्यान नदिएको स्वीकार गर्नुभयो, खुमलटार पुगेर त आफैले अघि बढाएको षडयन्त्रलाई प्रधानमन्त्रीतिर दोष देखाउनु भयो ।’
आफै प्रस्तावक, आफै बिरोधी
त्यसो त प्रचण्डले तीन जना मन्त्री नियुक्ति र राजदुत नियुक्तिमा पनि दोहोरो कुरा गर्नुभएको छ । बालुवाटार स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार अर्थमन्त्रीमा बिष्णु पौडेललाई नियुक्त गर्न प्रचण्डले सहमति दिनुभएको थियो भने कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठको बिषयमा पनि उहाँले आपत्ति जनाउनु भएको थिएन । ‘तपाईकै कोटा हो, नियुक्त गर्नाेस’ भन्दै बालुवाटारबाट हिडनुभएका प्रचण्डले खुमलटार पुगेर ठीक उल्टो कुरा गर्दै ‘ओलीले मान्दै मानेनन’ भन्दै बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई भडकाउनु भएको थियो ।
यस्तै राजदुत नियुक्तिमा पनि प्रचण्डले बालुवाटारमा प्रस्ताव गरेर खुमलटारमा बिरोध गरेको पाइएको छ । स्रोतका अनुसार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदुतका लागि पहिलो पटक प्रस्ताव गर्ने प्रचण्ड नै हुनुहुन्थ्यो भने पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि कुनै देशमा राजदुत बनाउनु पर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएको थियो । तर आफै प्रस्तावक बनेर पनि उहाँले राजदुत नियुक्तिमा एकलौटी भयो भन्दै अफवाह फैलाउन लाग्नुभयो । नेकपा कर्णाली प्रदेशमा देखिएको बिवाद समाधानको बिषयमा पनि प्रचण्डले बालुवाटारमा सहमति गरेर खुमलटार पुगपछि उल्टो कुरा गर्नुभएको तथ्य खुलिसकेको छ ।
यो पनि पढनोस
प्रतिक्रिया दिनुहोस्