जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार ०९:०१

मालपोत कर्मचारीको बदमासी : नक्कली लालपूर्जा बनाएर गरियो ९२ रोपनी जग्गा हाउजिङको नाममा पास


काठमाडौं, जेठ १८

नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएको तथ्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध गत सोमबार विशेष अदालतमा मुद्दा दायर गरेपछि सो तथ्य बाहिर आएको हो ।

मालपोत कार्यालय कलंकीका तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार नक्कली जग्गाधनी मीनाकुमारीको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ । तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो । सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई करोड २१ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।