जनता टाइम्स

१८ जेष्ठ २०७६, शनिबार १३:४१

काठमाडौं उपत्यकासहित देशभरको मौसम खराब, मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडौं, जेठ १८

पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वमा बनेको न्यून चापीय रेखा र प्री–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।

सामान्यतया प्री–मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस र अधिकमत तापक्रम २९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको छ।