सुनसरी, जेठ १८
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो ।
“हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भन्नुभयो, “सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।”
उहाँले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाउनु भएको थियो ।
उहाँले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराउनुभयो । किरात राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान आउनुभएका अध्यक्ष दाहालले पहिले कार्यकर्तासँग १२ बजे भेटघाट गरी उभौलीको समापन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्