जनता टाइम्स

१३ मंसिर २०७७, शनिबार ०८:०४

भोलि चिनियाँ रक्षामन्त्री आउँदै, परराष्ट्रद्वारा सार्वजनिक


काठमाडौं, मंसिर १३ ।  चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउदै हुनुहुन्च । उहाको भ्रमणबारे शनिबार बिहान परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा घोषणा गरेको हो । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो । कोभिड १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुनुहुन्छ । उहाँ नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम छ । स्रोतका अनुसार उहा आइतबार नेपालको भ्रमण सकेर बंगलादेश जाने कार्यक्रम छ । उहाले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता समेत गर्नुहुनेछ । रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लाग्नु भएको हो ।सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्धिपक्षीय वार्ता गरेका थिए । त्यही बेला चिनियाँ रक्षामन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा थियो । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि रक्षामन्त्रीका तर्फबाट नेपाल भ्रमणका लागि स्मरण गराएका थिए ।परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्रीको भ्रमणको तयारी तीब्र पारेका छन् ।