जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार ०९:२३

दरबार हत्याकाण्डका १८ वर्षः हत्यारा को रहस्यमय


काठमाडौँ, १९ जेठ । दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो ।

त्यसबेला सरकारले बनाएको छानिबन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको बताए पनि जनता भने आजसम्म पनि विश्वस्त हुन सकेका छैनन् । दरबार हत्याकाण्डलाई जोडेर विभिन्न पुस्तक सार्वजनिक भएपनि अहिलेसम्म हत्या कसले र किन गरेको भन्ने विवरण सार्वजनिक हुन सकेको छैन ।
नेपाली इतिहासमा त्यस्ता थुप्रै हत्याकाण्ड भए जुन किताबका पानामा लेखिन्छन् । तर कहिल्यै नमेटिने छाप छोडेर भएको हत्याकाण्ड १८ वर्षअघि नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड नै हो । घटना तत्कालीन युवराज दीपेन्द्रले गराएको भन्ने प्रतिवेदन निकालियो। तर त्यो प्रतिवेदनलाई अहिलेसम्म नेपाली जनता मान्न तयार छैनन् ।

दीपेन्द्रले त्यतिसम्म गर्न सक्लान् भन्ने कसैलाई लागेकै छैन । ज्ञानेन्द्र शाहको परिवारमध्ये कोमल शाह घाइते भएकी थिइन् । अन्य कसैलाई केही नहुँदा शंका गर्ने ठाउँ रह्यो ।

हुनत तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा उच्चस्तरीय छानविन समिति गठन भएको थियो । त्यो समितिले दीपेन्द्रलाई नै दोषी देखायो ।

दरबारभित्र सो समयमा भएका व्यक्तिहरुको भनाइलाई आधार मानेर रिपोर्ट तयार भएको थियो । परिस्थिति यस्तो थियो कि तत्कालीन सभामुख तारानाथ रानाभाटले दोहोरो कुरासमेत गरेका थिएनन् । समितिले दरबार निकटका कसैसंग पनि प्रतिप्रश्न गर्न पाएका थिएनन् । एकोहोरो भनेको भनाइलाई आधार बनाउँदा पक्कै पनि त्यो रहस्यमय बनेको थियो, यद्यपि छ ।

दरबार हत्याकाण्डको ग्राण्ड डिजाइनको खुलासा गर्ने भन्दाभन्दै काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पनि निधन भयो। यतिलामो समय भइसक्दा पनि अहिलेसम्म थप कुनै कुरा बाहिर आउन सकेन । पुस्तकमा मनगढन्ते कुरा लेख्ने क्रम अहिले पनि रोकिएको छैन ।