काठमाडौं, जेठ १९
मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“तीन/चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ । दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ”, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन ।
अहिले वायुमण्डलको तल्लो सतह (एक/डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताउनुभयो । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।
पश्चिम तराईमा केही दिन अझै सुक्खा
नेपालको पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव छैन । बङ्गालको खाडीबाट पनि टाढा रहेको र पश्चिमी वायुको प्रभाव तराईमा सँधै नपर्ने भएकाले नेपालगञ्जदेखि पश्चिमको तराईमा भने अझै केही दिन सुक्खा रहने मौसमविद् अर्यालले जानकारी दिनुभयो । पश्चिमी वायुको मौसम प्रणाली धेरै भयो भने मात्र पश्चिम तराईमा प्रभाव पर्ने हो, पश्चिमी वायुको प्रभाव सामान्यतया पश्चिम भेगका पहाडी र हिमाली क्षेत्रमा बढी पर्छ ।
‘पश्चिम तराईमा तत्काल वर्षा नभए पनि बादल देखिएर तीनरचार डिग्री सेल्सियस तापक्रम घट्ने अनुमान छ’, उहाँले भन्नुभयो । पश्चिमी तराईमा हाल पूर्वको तुलनामा पाँचरछ डिग्री सेल्सियस तापक्रम बढी छ । नेपालमा पश्चिमी वायु भूमध्यसागरबाट उत्तरपश्चिम हुँदै प्रवेश गर्छ । महाशाखाको पछिल्लो २४ घण्टाको विवरणअनुसार पोखरामा सबैभन्दा बढी ३५ मिलिमिटर वर्षा भएको छ ।
प्रतिक्रिया दिनुहोस्