काठमाडौं, मंसिर २८
दक्षिण कोरियामा कोरोना संक्रमित एकैदिन अहिलेसम्मकै उच्च भेटिएको छ । नयाँ संक्रमितको संख्या बढिरहेको भन्दै रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आज १ हजार २ जना नयाँ संक्रमित भेटिएका छन् । अधिकारीहरुले सामाजिक दुरी कायमको नियमलाई कडाइका साथ पालना गर्न दबाब दिएका छन् ।
निजी भेटघाट, चर्च र अस्पतालहरुबाट संक्रमण फैलिएको पाइएको केन्द्रले जनाएको छ । अहिलेको संक्रमणको अवस्था महामारी सुरु भएयताकै खराब रहेको अधिकारीहरुले जनाएका छन् । अस्पतालहरुमा बेडको अभाव हुन थालेको छ । अहिलेसम्म कोरियामा ४२ हजार ७६६ जनामा कोरोना पुष्टि भएको छ भने ५८० संक्रमितको मृत्यु भएको छ ।
पूर्वि एसियाली देशहरुले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन र कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण रहेको बताउँदै आएका छन् । कोरियाका प्रधानमन्त्री चुङ से क्यूनले तेस्रो चरणको संक्रमण नरोकिए सामाजिक दुरीको नियमलाई कडाइका साथ अवलम्बन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
राजधानी सोलमा नाइट क्लव बन्द गरिएका छन् भने रेष्टुरेन्टहरुले डेलिभरी सुविधा उपलव्ध गराइरहेका छन् । संक्रमण बढिरहेपछि कार्यालयहरुमा पनि अत्यावश्यक व्यक्तिबाहेक अन्यलाई नआउन अनुरोध गरिएको छ भने १० जनाभन्दा बढी भेला हुन नपाईने नियम लागू गरिएको छ । कोरियामा ८८ प्रतिशत जनसंख्याका लागि कोरोनाको खोपको व्यवस्था मिलाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्