जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १३:०२

डुबेर ज्यान गुमाएका दुई विद्यार्थीका परिवारलाई छ-छ लाख दिने सहमति


खोटाङ, जेठ २०

खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले रु छ/छ लाख दिने सहमति भएको छ ।

शैक्षिक भ्रमणका लागि शनिबार प्राविधिक शिक्षालयले साप्सु खोलामा लगेको बेला दहमा डुबेर ज्यान गुमाएका ती विद्यार्थीका परिवारलाई शिक्षालयले मृतक परिवारलाई रु पाँच/पाँच लाख राहत एक/एक लाख किरिया खर्च दिने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ भएको छलफलमा शिक्षालयका सञ्चालक र मृतकका आफन्तबीच क्षतिपूर्ति लिने/दिनेमा दुई पक्षीय सहमति भएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले बताउनुभयो । प्रति मृतक परिवार रु ५० हजार तत्काल दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमति भएको छ ।

वार्ताका माध्यमबाट सहमति जुटेपछि आज मृतक दुवै जनाको शव परीक्षण गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ । शुरुमा डुबेका भट्टराईलाई जोगाउने क्रममा बस्नेतले पनि ज्यान गुमाएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताउनुभयो ।

एलिसका मामा विनोद बस्नेतका अनुसार छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समेत मृतक विद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ । वडा कार्यालयका तर्फबाट पनि मृतक विद्यार्थीको नाममा सामाजिक काम गर्ने योजना बनाएको वडाध्यक्ष डिल्ली राईले बताउनुभयो । क्षतिपूर्ति माग गर्दै मृतक परिवारले आइतबार दिक्तेलमा नारा/जुलुस प्रदर्शन गरेको थियो ।