जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १६:२५

बागलुङका चार स्थानीय तहमा विपद व्यवस्थापन प्रतिकार्य योजना तयार


बागलुङ, जेठ २०

बाग्लुङका चार स्थानीय तहले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाइमा स्थानीय तहले योजना बनाएका हुन् । बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् ।

स्थानीय तहमै विपद्विरुद्धका क्रियाकलाप सञ्चालन गर्न सकिने क्षमता विकास गर्दै प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । योजनाले उद्धारकर्ताको क्षमता विकास गर्ने उद्देश्यसमेत राखेको सोसाइटीका बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताउनुभयो । चारवटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्धार कार्यदलसमेत बनाइएको छ ।

हरेक वडामा ११ देखि १७ जना सम्मको व्यवस्थापन समिति र उद्धार कार्यदल बनाएर आवश्यक सामग्री पनि वितरण गरिएको छ । ‘ती समूह र कार्यदलले प्रारम्भिकरुपमा काम पनि गरिरहेका छन,’ कोइरालाले भन्नुभयोे, ‘सबै स्थानीय तहको समन्वयमा सबै वडामा यस्ता कार्यदल र उद्धार समिति बनाउने तयारी छ ।’

कार्यदल र समितिमा रहेका सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालीम र सामग्री दिने बताइएको छ । योजना बनेका गाउँ तथा नगरपरिषदले विपद् व्यवस्थापन ऐन बनाएर कार्यान्वयनमा ल्याएका छन् । गोर्खा भूकम्पपछि सरकारले विधेयकमार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो ।

गत वर्ष ऐनसमेत आएकाले अब हरेक वडातहमै कार्यदल बन्ने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । योजनामा घटना घटेको पहिलो एकदेखि २४ घण्टासम्म घटनास्थल पुगेर गरिने खोजी र उद्धारदेखि एक महीनासम्ममा पुनःस्थापना, राहत तथा अन्य व्यवस्थापनसहितका काम समावेश छन् ।