जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १६:२४

ब्रिटिस एयरवेज दश वर्षपछि फर्कियो पाकिस्तान


इस्लामाबाद, जेठ २०

दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ। इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो ।

अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा उडान हप्ताको तीन दिन गर्नेछ । बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस बसोबास गर्दछन्। युरोपमै सबैभन्दा बढी पाकिस्तानी बेलायतमा रहेका छन् । “बेलायती ध्वजाबाहक विमानसेवा शुरु भएको छ। धेरै किसिमबाट यति निकट दुबै मुलुकबीचको सम्बन्धलाई अझ निकट ल्याएको छ,” पाकिस्तानका लागि बेलायती उच्चायुक्त थोमस ड्रयूले बताउनुभयो ।

हालसम्म पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) ले मात्र दुबै मुलुकबीच सिधा उडान गर्दै आएको थियो । म्यारिओट होटलमा आक्रमणपछि दुई मुलुकबीचको हवाई यात्राका लागि मध्यपूर्वका विमानसेवाहरु खासगरी एतिहाद र इमिरेट्समा निर्भर रहनुपर्ने बाध्यता थियो । पछिल्लो पटक सन् २०१४ मा कराँचीमा तालिबानीहरुले गरेको भिषण आक्रमणपछि हङकङस्थित क्यादी प्यासिफिकले पनि पाकिस्तान उडान स्थगित गरेको थियो ।

त्यसपछि कुनै पनि विदेशी विमानसेवाले पाकिस्तान उडान गरेका थिएनन् । पाकिस्तानले पछिल्ला १५ वर्ष मुलुकभित्रै सक्रिय लडाकू समूहसँग सङ्घर्ष गर्नु परेको थियो जसका कारण हजारौंको ज्यान गइसकेको छ। तर पाकिस्तानको अवस्था पछिल्ला केही वर्षदेखि नाटकीय रुपमा सुधार आएको छ ।