जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ०८:४२

रसुवा दुर्घटनाका मृतकको नाम खुल्यो, तीन जना अझै बेपत्ता


रसुवा ।

पोखराबाट आएको टाटासुमो सोमबार साँझ रसुवामा दुर्घटनामा परि ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन् ।

दुर्घटनामा परि ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् । सोमबार साँझ पोखराबाट रसुववाको आमाछोदिङ्गो गाउँपालिका जाँदै गरेको बा १० च ५८२० को टाटासुमो गोसाइँकुण्ड गाउँपालिका गुम्चेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रसुवा प्रहरीले जानकारी दिएको छ ।

घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताउनुभयो ।