जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ११:०४

मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री गंगालालमा


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुटु सम्वन्धि समस्या भई राजधानी काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचार गरिरहनु भएका प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बारेमा जानकारी लिनु भएको छ । मुटुको एनजिओप्लाष्ट गरेर अस्पतालमै आराम गरिरहनु भएका मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली आज विहान अस्पताल पुग्नु भएको हो ।

उहाले मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आइतबार मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना हुनु भएको थियो । अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणिअधिकारीको टोलीले उहाको उपचार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। डा. अधिकारीका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ। अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।