१ माघ २०७७, बिहीबार ००:००

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान, यी विषयमा हुँदैछ छलफल


काठमाडौँ, माघ १

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल–भारत छैठौं संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली केही समय अघि भारत प्रस्थान गर्नुभएको हो ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकता साथ उठाउने भएको छ । यस्तै नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनु भएको छ । भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्नुहुनेछ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ । लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

Quick Links