जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १६:४९

अपाङ्ग तथा दृष्ट्रिविहिनहरुको मागः क्षमता अनुसारको रोजगार पाउँ


काठमाण्डौं, जेठ २१

शडकमा व्यवसाय गर्ने दृष्टीविहिन तथा अपाङ्गहरुले आफुहरुलाई शडक पेटीबाट हटाउनु पूर्व रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय सिंहदरवारमा ज्ञापनपत्र बुझाउन गएका अपाङ्गहरुले ज्ञान र सिपको आधारमा रोजगारी व्यवस्था गर्न माग गरेका हुन् ।

शीरीषको फुल सामाजिक संस्थाका रामकुमार खातिको संयोजकमा गएको टोलिले प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनालीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै मैनालीले उचित माग भएको भन्दै विभिन्न मन्त्रालयमा जानकारी गराउने बताउँनु भएको छ ।

ज्ञापनपत्र बुझाउने प्रतिनिधिमा रहेका लोकेन्द्र भट्टले प्रधामन्त्रीलाई भेट्न नपाएपनि सल्लाहकार संग आफुहरुको माग राखेको बताउनु भएको छ । उहाँले आफ्नो मागको बारेमा स्पष्ट पार्दै भन्नुभयो‘ सरकारले बजेट वक्तव्यमा फुटपाथ सफाराख्नको लागि बाटोमा व्यवसाय गर्दै आएका अपाङ्गहरुलाई त्यहाँ बस्न नदिने उल्लेख गरेको छ । हामी आफ्नो गुजरा गरिरहेकालाई त्यहाँबाट हटाउँदा हाम्रो क्षमता अनुसारको रोजगारी व्यवस्था गर्नु पर्यो रोजगारी दिन सक्दैन भने बेरोजगार भत्ता दिनुपर्यो होईन भने हामीले फुटपाथमा सानो व्यवसाय गर्न दिनुपर्यो भन्ने हामीले माग गरेका छौ ।’

सुन्धराको फुटपाथमा धुपबत्ति बेच्दै आउनु भएका भट्टले भन्नुभयो ‘हामी फरक क्षमताका व्यक्ति हौं तर हामी संग सिप छ , सिप अनुसारको रोजगारी राज्यले दिनु पर्छ।’ सरकारले बजेटमार्फत बढाएको हजार रुपैयाँले आफ्नो जिवन धान्न नपुग्ने भन्दै क्षमता अनुसारको काम दिन माग गर्नुभएको छ ।