जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १६:१७

कहाँ पुग्यो ‘बदनियतपुर्वक फैसला गर्ने’ आठ न्यायाधीशमाथिको छानबिन ?


काठमाडौं, जेठ २१

न्यायपरिषदले उच्च अदालतका आठ र जिल्ला अदालतका तीन जना न्यायाधीशलाई जिम्मेवारीविहीन बनाएर उजुरीमाथि छानबिन अघि बढाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले गलत नियतका साथ फैसला गरेको निश्कर्षका साथ परिषदमार्फत न्यायाधीशलाई जिम्मेवारीबिहीन बनाएर छानविन अघि बढाउनु भएको हो ।

परिषदले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश डा. कुलरत्न भुर्तेलसहित आठ न्यायाधीश न्यायपरिषदमा तानेर छानविन अघि बढाएको हो । भुर्तेलसहित न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थिरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार पौड्याल, उमेशकुमार सिंह, साधुराम सापकोटा र जनक पाण्डेमाथि छानबिन भइरहेको हो ।

न्यायपरिषदले सवै न्यायाधीशमाथि छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा गत माग ७ गते छानविन समिति गठन गरेको थियो । समितिले सवै न्यायाधीशबिरुद्ध परेको उजुरीको मिहिन ढंगबाट छानविन भइरहेको जनाएको छ ।