जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १६:३८

नेकपाको सचिवालय बैठक सुरु : कार्यबिभाजनसहित यस्ता छन एजेण्डा


काठमाडौं, जेठ २१

केन्द्रीय सदस्यको कार्यबिभाजनदेखि पोलिटब्युरो गठनको एजेण्डासम्म टुंगो लगाउन सत्तारुढ नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा पार्टी एकताको बाँकी काम टुंग्याउने एजेण्डा रहेको छ ।

पार्टी एकता भएको एक बर्ष बितिसक्दा पनि नेकपाले पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्यबिभाजन गर्न सकेको छैन । कार्यबिभाजन नहुँदा सचिवालयमा रहेका नेताहरु नै काम पाइन भन्दै मिडियातिर बोल्न थालेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले गृहकार्यसहित आज सचिवालय बैठक बोलाउनु भएको हो । बैठकमा एकताको बाँकी काम टुंग्याउने गरी छलफल अघि बढेको छ ।

नेकपामा केन्द्रीय सदस्यको कार्यबिभाजन अहिलेसम्म हुन सकेको छैन । यस्तै केन्द्रीय निकाय, बिभाग गठन हुन बाँकी रहेको छ । जनसंगठनको एकता टुंगो लगाए पनि कतिपय संगठनमा नाममै बिवाद हुन थालेको छ भने अन्तरपार्टी निर्देशन नआएको कारण जनसंगठनले काममा गति लिन सकेका छैनन । यस्तै प्रदेश स्तरीय पेशागत जिल्ला कमिटीसमेत गठन हुन सकेको छैन भने प्रवाश कमिटीको एकता पनि टुंगो लागेको छैन ।

नेकपाभित्र केन्द्रीय बिभाग प्रमुखको बिषयमा पनि बिवाद देखिएको छ । सचिवालयमै रहेका नेताहरुले संगठन बिभाग, बिदेश बिभाग र प्रचार बिभागमा अडान लिएपछि सहमति जुटन सकेको छैन । सवैभन्दा महत्वपुर्ण मानिने संगठन बिभागमा महासचिव बिष्णु पौडेल नै प्रमुख रहनु पर्ने भएपनि सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा दावेदार देखिनु भएको छ । सचिवालय सदस्यमा सहमति जुटन नसके स्थायी कमिटीबाट संगठन बिभागको नेतृत्व दिने गरी समेत छलफल भइरहेको एक नेताले बताए ।

‘दुई अध्यक्षबीच सचिवालयका नेताहरुबीच समति हुन नसकेको अवस्थामा स्थायी कमिटीबाट पनि संगठन र प्रभार बिभागको नेतृत्व दिन सकिन्छ भन्ने कोणबाट पनि छलफल भएको छ,’ सचिवालयका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार हिजो झण्डै पाँच घण्टा लामो बौठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच केन्द्रीय सदस्यको कार्यबिभाजन र जिल्ला इञ्चार्जको बिषयमा कुराकानी भएको छ भने कतिपय बिषयमा बैठकमै आवश्यक निर्णय लिने सहमति भएको छ । सो सहमतिअनुसार दुवै अध्यक्षले आजको बैठकमा सचिवालय सदस्यहरुको भावना बुझेर निर्णय लिने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली यही जेठ २५ गते युरोप भ्रमणमा जान लाग्नुभएकोले सो समयभित्र एकताको सवै काम टुंगो लगाउने गरी गृहकार्य अघि बढेको र सोही अनुसार सचिवालयले आवश्यक निर्णय लिने नेताहरुले बताएका छन ।