जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार ०९:३१

इटहरीका मेयर चौधरीलाई नेता योगेश भट्टराईको सुझाव – सार्वजनिक रुपमा माफी माग्नुहोस्


काठमाडौं ।

इटहरी नगरपालिकाका मेयर द्वारिका चौधरी अहिले चर्चाको केन्द्रमा छन् । उनले दिएका अभिव्यक्ति, हक्की स्वभाव र निडर प्रवृतिले उनि चर्चामा रहेका हुन् । विशेषगरी पत्रकार, भ्रष्टचार र सुशासनका विषयमा उनले सार्वजनिक गरेका अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै भएको छ ।

यसैक्रममा नेकपाका नेता एवम् सांसद योगेश भट्टराईले सार्वजनिक रुपमा आत्मालोचना गर्न मेयर चौधरीसँग आग्रह गर्नुभएको छ । नेता भट्टराईले पछिल्लो समय चौधरीले पत्रकार र कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति उहाको पद र प्रतिनिधित्व गरेको पार्टी नेकपा स्वयमका लागि नसुहाउँने कुरा भएको बताउनु भएको छ ।

‘म द्वारीकाजीको हकी स्वभाव, प्रस्ट वक्ता र इमान्दारिताको पहिलेदेखि कै प्रसंशक हुँ ।’ नेता भट्टराईले फेसबुकमा लेख्नु भएको छ,‘सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन विनम्र अनुरोध गर्दछु ।’