जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १८:२६

विपन्न विद्यार्थीलाई निःशुल्क स्वीटर


काठमाडौं, माघ १३

माघको चिसोमा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३८६ विद्यार्थीलाई निःशुल्क ऊनीको स्वीटर वितरण गरिएको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा रहेको चामुण्डा माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क स्वीटर वितरण गरिएको हो ।

चामुण्डा पूर्वविद्यार्थी मञ्चले आज आयोजना गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि पाँचसम्म अध्ययन गर्ने ३८६ विद्यार्थीलाई ऊनी स्वीटर वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपकसिंह भण्डारीले जानकारी दिनुभयो ।

स्वीटर वितरण गर्नुहुँदै वडाध्यक्ष रमेश अर्यालले हातमुख जोर्न समस्या हुने विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा दिनु परोपकारी काम भएको बताउनुभयो । विद्यालयका पूर्वविद्यार्थीले सहयोग जुटाएर न्यानो कपडा वितरण गरिएको मञ्चका पूर्वअध्यक्ष कुमारराज सुवेदीले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य यादवप्रसाद पौडेल, समाजसेवी ईश्वर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारी, मञ्चका अध्यक्ष सुवेदीलगायतले पूर्वविद्यार्थीको समूहले उदाहरणीय काम गरेकाले यस्ता रचनात्मक काम निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय हुनेखाने निजी विद्यालयमा पढ्न थालेपछि सामुदायिक विद्यालयमा विपन्न वर्गका विद्यार्थीमात्र अध्ययन गर्छन् । मजदूरी गरेर सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावका लागि न्यानो कपडा किनिदिन पनि धौधौ परेको देखेपछि मञ्चले पूर्वविद्यार्थीको सहयोग जुटाएर यो रचनात्मक काम गरेको जनाइएको छ ।