जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १५:४२

पर धकेलियो नेकपाको कार्यबिभाजन : मन्त्री र सांसदलाई इञ्चार्ज दिन नहुने नेपालको अडान


काठमाडौं, जेठ २२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिर्णय भोलिसम्म स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री तथा सांसदहरुलाई इञ्चार्ज दिन नहुने अडान राखेपछि बैठक बिनानिश्कर्ष टुंगिएको हो ।

नेकपाले आज ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने जनाएको थियो तर सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीले यसअघि भइरहेको एकताका मापदण्डको आधारमा प्रस्तुत गर्नुभएको प्रस्तावमा बरिष्ठ नेता नेपालले असहमति जनाउनु भएको हो । बरिष्ठ नेता नेपालकै आपत्तिको कारण हिजोको सचिवालय बैठक पनि निश्कर्षहीन बनेको थियो । दुई अध्यक्षबीच जिल्ला इञ्चार्ज र सहइञ्चार्जमा सहमति भएपनि सचिवालयमा रहेका नेताहरुले आपत्ति जनाउँदा कार्यबिभाजन प्रस्ताव पर धकेलिएको छ । भोलि बिहान बस्ने बैठकमा सहमति हुन नसके प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि मात्रै यो बिषय पुग्ने देखिएको एक नेता बताउँछन ।

‘अध्यक्षले प्रस्ताव गर्नुभयो, तर बरिष्ठ नेताले मन्त्री र सांसदलाई इञ्चार्ज दिन हुन्न भन्ने अडान राखेपछि सहमतिमा पुग्न सकिएन,’ बैठकपछि सचिवालयका एक नेताले जनताटाइम्ससँग भन्नुभयो । हिजो बसेको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्डको सहमतिमा इञ्चार्ज र सहइञ्चार्जको नाम प्रस्तुत गरिएको थियो । प्रस्तुत नाममा कतिपय ब्यक्तिको नामै किटेर बरिष्ठ नेता नेपालले आपत्ति जनाउनु भएको ती नेताले बताए ।

ती नेताका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डले योग्यता, कार्यक्षमता, बरिष्ठता र कार्यकर्तामाझ लोकप्रिय केन्द्रीय सदस्यलाई इञ्चार्जको रुपमा प्रस्ताव गर्नुभएको छ । बरिष्ठता मात्रै आधार बनाउँदा भुगोलमा कार्यकर्तामाझ लोकप्रिय रहेका नेताले जिम्मेवारी नपाउने र पार्टी सशक्त नहुने निश्कर्षसहित अध्यक्षद्वयले कार्यक्षमता र कार्यकर्तामाझ लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुभएको ती नेताले बताए ।

‘ब्यक्ति हेरेर होइन, कार्यक्षमता र लोकप्रियतालाई आधार बनाउनु पर्छ भन्ने देशभरका कार्यकर्ताको आवाजलाई नेतृत्वले सुनेको छ, त्यहीअनुसार प्रस्ताव आएको हो,’ ती नेताले भने । आजको बैठकमा अध्यक्ष ओलीले यसअघि एकतामा भएको अभ्याशकै आधारमा जानु उपयुक्त हुने धारणा सुनाउनु भएको थियो । नेकपामा पार्टी एकता भएको एक बर्ष बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन । शीर्ष नेताबीचको छलफल लम्बिदा यस्तो अवस्था बनेको हो ।

नेकपामा अझै पोलिटब्युरो गठन हुन सकेको छैन । यस्तै केन्द्रीय निकाय, बिभाग समेत गठन हुन बाँकी रहेको छ । जनसंगठनको एकता टुंगो लगाए पनि कतिपय संगठनमा नाममै बिवाद हुन थालेको छ भने अन्तरपार्टी निर्देशन नआएको कारण जनसंगठनले काममा गति लिन सकेका छैनन । पयस्तै प्रदेश स्तरीय पेशागत जिल्ला कमिटीसमेत गठन हुन सकेको छैन भने प्रवाश कमिटीको एकता पनि टुंगो लागेको छैन । नेकपाभित्र केन्द्रीय बिभाग प्रमुखको बिषयमा पनि बिवाद देखिएको छ । सचिवालयमै रहेका नेताहरुले संगठन बिभाग, बिदेश बिभाग र प्रचार बिभागमा अडान लिएपछि सहमति जुटन नसकेको हो ।