जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०६:०९

आज जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउँदै नेकपा


काठमाडौं, जेठ २३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल गर्दै आज बिहीबार टुङ्गो लगाउने भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा नमिलेको कुरा केही नभएको र छलफल सकारात्मक दिशातिर बढेकाले अब टुङ्गिन मात्र बाँकी रहेको बताउनुभयो । “बैठकमा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा राम्रो छलफल भयो”, उहाँले भन्नुभयो, “इञ्चार्ज र सहइञ्चार्ज बनाउने विषयको नीतिका बारेमा सबै पक्षबाट गम्भीरतापूर्वक छलफल भई सकारात्मक तरिकाले टुङ्ग्याउने दिशातिर अघि बढेको छ ।बिहीबार बिहान ९ बजे सचिवालयको बैठक बसेर जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छौँ ।”

उहाँले बुधवारनै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाउने गरी बैठक बसे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताले नसकिएको जानकारी गराउनुभयो ।

“पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विशेष कारणले गर्दा ठोसरुपमा इञ्चार्ज र सहइञ्चार्ज टुङ्ग्याउने प्रक्रियामा प्रवेश गर्दा गर्दै पनि समयले साथ दिएन”, उहाँले भन्नुभयो । उहाँले आज विहिवार बस्ने बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएपछि समय बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने जानकारी गराउनुभयो । नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी रहेको छ ।