जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १२:४२

विश्वशान्तिको कामना गर्दै कपनमा महायज्ञ


काठमाडौं, जेठ २३

निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा १२ दिने महायज्ञको आयोजना गरेको छ । निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने उद्देश्यले पनि महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताउनुभयो । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो ।

यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ । महायज्ञमा स्वामी मनमोहन (एमएम) मुरारी दास र पण्डित दयाराम (डिकप्रसाद) निरौलाले कथा वाचन गर्नुभएको छ । जेठ २१ गते उद्घाटन भएको महायज्ञमा कलशयात्रा गरिएको थियो भने जेठ २२ गते मण्डपपूजा गरिएको थियो । अन्य दिन नियमित पूजापाठ र कथावाचन हुनेछ ।