जनता टाइम्स

२४ जेष्ठ २०७६, शुक्रबार १९:००

सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउँछः मन्त्री बाँस्कोटा


दाङ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सकारात्मक समाचारले नै मुलुकलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ हेमन्तपुरस्थित रेडियो नेपाल प्रदेश नं ५ को प्रादेशिक प्रसारण कार्यालयको शुभारम्भ तथा रेडियोको नयाँ भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले रेडियो नेपाल जनताको सम्पत्ति र सबैको साझा संस्था भएको बताउनुभयो ।

“विकास क्रमिक रुपमा हुने कुरा हो, अहिले शुरु गरे त्यो परिमाण, दुई÷तीन वर्षमा देखिन्छ, पत्रकारहरुले पनि आज शुरु भएको कामको परिणाम एक महिनामा खोज्नुु हुँदैन”, उहाँले भन्नुभयो । मुलुकमा तीव्र प्रविधिको विकास भएसँंगै सबै नागरिकलाई कम्प्युटरमा पहुँचमा ल्याउने गरी सरकारले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । उहाँले दाङमा टेलिकमका छ वटा टावर निर्माण भइरहेको र अबको एक वर्षभित्र फोर जी सेवासमेत शुरु हुनेगरि काम अघि बढेको बताउनुभयो ।

रेडियोले दाङबाट ९८ मेगाहर्जमा दैनिक ३ बजेदेखि ६ बजेसम्म प्रसारण गर्नेछ भने रोल्पामा १०३३ मेगाहर्जबाट प्रसारण गर्नेछ । रेडियोले चौधरी, अवधी, मगरलगायत भाषाबाट समाचार प्रसारण गर्नेछ । रेडियोले प्रदेश नं ५ को कला, संस्कृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले बताउनुभयो । सो अवसरमा मन्त्री बाँस्कोटाले रेडियो नेपालको नयाँ भवनको समेत शिलान्यास गर्नुभयो । रु दुई करोड १७ लाख ७६ हजार लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणको जिम्मा ड्रागण शिवालय चौरी जेभीले पाएको छ ।

सञ्चार मन्त्रालयको सहयोगमा निर्माण हुन लागेको उक्त भवनको काम नौ महिनामा पूरा हुनेछ । त्यस अवसरमा नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी, प्रतिनिधिसभा सदस्य रेखा शर्मा, प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी, राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेश नं ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।