जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १३:३७

प्रदेश ३ को नाम रहने भयो गौरीशङ्कर, वाग्मती, नेवा–ताम्सालिङ र नेपाल मण्डलमध्ये एक


कालिका खड्का/काठमाडौं

प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ मण्डल, गोसाइँकुण्ड, शैलुङजस्ता नाम छन् । राजधानीका बारेमा मकवानपुर, चितवन, काभ्रेमा राजधानी हुनुपर्छ भनेर प्रस्ताव दर्ता भएको छ ।

प्रदेश सरकारले सबै सांसदसँग परामर्श गरेर नामको अन्तिम टुङ्गो लगाउने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं ३ का सचिव तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले प्रदेशको नामकरण र राजधानी दुबै सबैको सहमतिमा राखिने सुनाउनुभयो । ‘प्रदेशको नाम राख्ने र राजधानी कहाँ राख्ने विषयमा प्रदेश सांसदले संवैधानिक अधिकार प्रयोग गर्नुभएको छ, सर्वसम्मत रुपमा नाम र राजधानी हुन्छ’, सचिव पोखरेलले भन्नुभयो, ‘कतिपय सांसदलाई मेरै जिल्लामा हुनुपर्र्छ भन्ने छ तर त्यस्तो ठान्नु हुँदैन ।’

उहाँले सर्वसम्मत ढङ्गले पार्टीको निर्देशन मान्नुपर्ने धारणा राख्नुभयो। उहाँले केरुङ, तातोपानी र लामावगर नाका खोल्ने तयारीमा प्रदेश लागेको जानकारी दिनुभयो ।सो प्रदेशले त्यहाँको विकासका लागि हेटौँडा–कुलेखानी, टोखा–छहरे, नौबिसे– सुरुङमार्ग बनाउँदा राम्रो हुने योजना बनाएको छ । सो प्रदेशलाई शून्य कार्बनको प्रदेश बनाउने र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा लागेको छ ।

‘भ्रष्टाचारमुक्त प्रदेश बनाउन मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै मन्त्रीहरु लागिरहनुभएको छ’, नेता पोखरेलले भन्नुभयो, ‘यो प्रदेश समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको छ ।’ उक्त प्रदेशले जनताउन्मुख बजेट आगामी असार एक गते ल्याउने तयारी गरेको छ । राष्ट्रिय आयभन्दा माथि आर्थिक वृद्धिदर बनाउने लक्ष्य राखेको छ ।

सरकारले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने र सरकारले तय गरेको समृद्ध नेपाल र सुखी नेपालीको बाटो पनि नीति तथा कार्यक्रमलाई जोडेर ल्याउने तयारी गरेको छ । प्रदेशमा रहेको गरीब र विपन्नतालाई कसरी सम्बोधन गर्ने भनेर साधन र स्रोत उचित परिचालन गर्ने योजना बनाएको छ ।

दश जिल्लामा पार्टी एकता सम्पन्न

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी) बीच २०७५ साल जेठ ३ गत पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । पार्टी एकता भएको एक वर्ष बितिसकेको छ । नेकपाले तीन महीनाभित्र मातहातका कमिटी एकता हुने भनिएको उद्घोषण गरेको थियो । केन्द्रीय कमिटी र प्रदेश कमिटीले पूर्णता पाएको छ तर जिल्ला कमिटीले पूर्णता पाउने क्रममा छन् ।

प्रदेश नम्बर ३ मा भएका १३ मध्ये आठ जिल्ला साविक एमाले र पाँच जिल्ला साविकको माओवादीलाई अध्यक्ष हुने गरी भाग लगाइएको थियो । त्योअनुसार जिल्लास्तरीय एकता प्रक्रिया १० जिल्लामा सकिएको छ । ‘१३ जिल्लामध्ये १० जिल्लाको एकता प्रक्रिया सम्पन्न भयो, चितवन, काभ्रे र ललितपुर बाँकी छ, त्यहाँ पूर्वमाओवादीको नेतृत्व र सदस्यता विवादका कारण केही ढिलाइ भएको, अब छिटो त्यो कार्य पूरा हुन्छ’, नेता पोखरेलले भन्नुभयो ।

नेकपाको मातहातका कमिटीलाई एकता, पार्टी सदस्यता एकीकरण, पार्टीका भौतिक सम्पत्तिको लेखाजोखा गरी अभिलेखीकरण गर्ने, कार्यालयको व्यवस्थापन र स्थानीय तहसँग छलफल गरी पार्टी नेतृत्व स्थापित गर्ने, स्थानीय तह दल गठन गर्ने (केन्द्रमा संसदीय दलजस्तै) बनाउने प्रदेश ३ को तयारी छ । वैशाख ९ गते पार्टी स्थापना दिवसका दिन जिल्ला कमिटीका अध्यक्ष र उपाध्यक्ष छिनोफानो गरेको थियो ।

सोहीअनुसार एकता गरेर सो प्रदेशले पार्टी स्थापना दिवस भव्यरुपमा मनायो । पुष्पलालको जन्मस्थान रामेछापको भँगेरीमा चार हजार मानिसको हाराहारीमा जन्मजयन्ती मनाएर ५२ रोपनी जग्गालाई अधिकरण गरेर आगामी दिनमा भँगेरीमा कम्युनिष्ट पार्टीको खोज अध्ययन केन्द्रको रुपमा विकास गर्ने नेता पोखरेलले जानकारी दिनुभयो । रासस