जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १३:५८

कञ्चनपुरमा भीषण हावाहुरीबाट पीडितलाई सहयोग गर्न आपतकालीन कोष निर्माण


भीमदत्तनगर, जेठ २५

दुई दिनअघि आएको भीषण हावाहुरीबाट पीडित स्थानीयवासीलाई सहयोग गर्न कञ्चनपुरका स्थानीय तहले राहत कोष स्थापना गरेका छन् ।विपद्मा परेका स्थानीयवासीलाई राहत तथा पुनःस्थापनाका लागि यहाँको कृष्णपुर नगरपालिकाले रु एक करोड बराबरको आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेको हो । नगरप्रमुख कर्णबहादुर हमालले उक्त कोषमा नगरपालिकाका ४९ जनप्रतिनिधिले एक महीनाको सुविधा बापतको रकम जम्मा गर्ने निर्णय गरेको बताउनुभयो ।

“नगरमा कार्यरत कर्मचारीबाट भने तलबको न्यूनतम २५ प्रतिशत अनिवार्य र त्योभन्दा बढी स्वैच्छिक रुपमा आपतकालीन कोषमा जम्मा गराउने निर्णय भएको छ । नगरप्रमुख हमालले भन्नुभयो–‘वडास्तरबाट क्षतिको विवरण सङ्कलन हुँदैछ ।” सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज जोशी र इञ्जिनीयर चुडामणि कलौनीले एक महीनाको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी बेदकोट नगरपालिकाले पनि नगरभित्र हावाहुरीका कारण घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति रु दश हजार उपचार खर्च दिने घोषणा गरेको छ । क्षतिको विवरण संकलन गर्न टोली नै परिचालन गरेको उक्त नगरपालिकाले क्षतिको विवरण सङ्कलन भएपछि सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारसँग राहत माग गर्ने गर्ने जनाएको छ । त्यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि क्षतिको विवरण सङ्कलन गरिरहेको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिनुभयो ।

“क्षतिको विवरण एकिन गरेर राहतका लागि पहल गछौँ ।” उहाँले भन्नुभयो, “विद्यालयदेखि स्थानीयवासीका घरसमेत क्षति भएका छन् ।” भीमदत्त नगरपालिकामा पनि हावाहुरीले क्षति पु¥याएपछि शुक्रबारदेखि नै नगरप्रमुख सुरेन्द्र विष्टसहितको टोली स्थलगत अनुगमनमा निस्केको छ । उक्त नगरपालिकाले पनि प्रारम्भमा सबै वडाध्यक्षहरुलाई आ–आफ्नो वडाभित्रको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको थियो ।

त्यसैगरी बेलौरी, पुर्नवास नगरपालिका, लालझाँडी र बेल्डाँडी गाउँपालिकाले पनि क्षतिको विवरण सङ्कलन गर्न लागेका छन् । हावाहुरीका कारण कञ्चनपुरमा घाइते भएका २३मध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् । दुई दिनदेखि अवरुद्ध विद्युत् सेवा आंशिक रुपमा सञ्चालन भएको छ ।कञ्चनपुरमा हावाहुरीले रु पाँच करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारीले पनि जिल्लाभरको क्षति विवरण सङ्कलन गर्न सुरक्षा संयन्त्र खटिएको जानकारी दिनुभयो ।