जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १४:३७

खेलाडीको मनोवल बढाउदै सरकार : फुटबल विजेता खेलाडीलाई जनही चार चार लाख दिने


काठमाडौं, चैत्र २०

कोरोनाबाट ग्रसित खेल क्षेत्र र त्यसमा पनि विशेष खेलाडीको मनोबल बढाउन सरकार सक्रिय हुन थालेको छ । फुटवल खेल्न स्वयम प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालामा पुगेपछि खेल क्षेत्रमा नयाँ तरंग नै ल्यायो ।

खेल क्षेत्रको मनोबल बढेको बुझेपछि त्यसलाई अझै हौसाउन सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार–चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार–चार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।