काठमाडौं, बैशाख ३
सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउनु पर्ने सरोकारवाला विज्ञहरुले बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल र द युनियनद्धारा आयोजित सुर्तीजन्य पदार्थमा कर वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवाला निकायले कर वृद्धिले सेवनमा कमी आउने बताएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले धुम्रपान नियन्त्रणका लागि सूर्तिजन्य पदार्थमा कर बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले मानव स्वास्थ्यमा असर पार्ने अगाडी केही उद्योग र केहीको रोजगारी तुलना हुन नसक्ने भन्दै कर बढाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले कर बढाउने विषयमा स्वास्थ्य र अर्थका दुबै मन्त्रीसँग छलफल गरी निचोड निकाल्ने पनि प्रतिबद्दता व्यक्त गर्नुभयो । अहिले शहरी क्षेत्रका स्कुल, कलेजका विद्यार्थीहरु पनि चुरोट सेवन गर्ने र हुक्काको ट्रेन्ड दिनदिनै बढेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिला अशिक्षित वर्गका व्यक्ति धेरै धुम्रपान गर्ने गर्थे तर अहिले शिक्षित समुहमा फेसनको रुपमा धुम्रपान व्यापक छ । कलेजका क्यान्टिनहरुमा चिया र चुरोट बेच्ने हुँदा आगामी दिनमा देशकै लागि घातक हुन्छ त्यसैले शैक्षिक संस्थाहरुले यसमा निगरानी गर्नुपर्दछ ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतले कानुनीरुपमा नेपाल दक्षिण एसियाकै पहिलो रहेको बताउनुभयो । उहाँले सुर्तिजन्य पदार्थ नियमन गर्ने नियमावली र कार्यविधी संसोधनको प्रस्ताव गरिएको र स्वास्थ्य मन्त्रालयले कम्तीमा २५ प्रतिशत कर बढाउन प्रस्ताव गरिएको जानकारी दिनुभयो । कार्यान्वयनको पाटोलाई पनि ध्यान दिइएको उहाँले जनाउनुभयो ।
कार्यक्रम आयोजकको तर्फबाट एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले तथ्यांकसहित महत्वपूर्ण भनाईहरुसहित सुर्तीजन्य पदार्थको सेवनले लाग्ने रोगको उपचार गर्दा सरदर नेपालीले कति पैसा तिर्नुपर्छ भनेर अनुसन्धान गरिएको रिपोर्ट प्रस्तुती गर्नुभएको थियो । उहाँले नेपालमा सुर्तीजन्य पदार्थमा कर बढाउन अब पनि ढिला गर्ने हो भने धेरै युवा जमात यसको लतमा फस्ने भन्दै सरकार यसमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले कर बढाउँदा धूमपान त्याग्ने दर पनि बढ्ने र राजश्व पनि बढ्ने भएकोले सरकारले यो फाइदाको बाटो अवलम्वन गर्न आग्रह गर्नुभयो ।
त्यस्तै स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले सुर्तिजन्य पदार्थ सेवनबाट हुने असरबारे जनचेतना फैलाउन पत्रकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अध्यक्ष न्यौपानेले विगत देखि नै आफूहरु सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण गर्ने अभियानमा जोडिएको भन्दै जनतालाई सुर्तीजन्य पदार्थको प्रयोगले हुने हानीबारे सचेत गराउने र नीति कार्यान्वयनका लागि राज्यलाई खवरदारी गर्ने काममा लागि रहेको बताउनुभयो । त्यस्तै उहाँले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न करमा बृद्धि गर्नुपर्ने बताउनुभयो ।
रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का अध्यक्ष यमबहादुर महतले आफ्नो पालिकामा जनचेतना फैलाउने भन्दै स्कुल, कलेजमा यस्ता अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘अधिकार खोज्नेहरुले कर्तव्य पनि भुल्नु भएन, सरकारले काम गरेन मात्रै भन्ने भन्दा पनि सबै जनताले आफ्नो स्वास्थ्यको ख्याल गरेर सुर्तीजन्य पदार्थ सेवन नगरे सरकारको समृद्ध नेपाल, सुखी नेपाली अभियान सफल हुन्छ ।’

अध्यक्ष महतले यस्ता कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै देशका कर्मचारी, नागरिक, राजनीतिकर्मीलगायत सबैले सेवन गर्न नहुने बताउनुभयो । जनप्रतिनिधि महतले जनस्वास्थ्यमा पार्ने प्रभावको विषयमा आफ्नो पालिकामा जनचेतना फैलाउँने बताउनुभयो । उहाँले थप्नुभयो,‘मैले मेरो घरपरिवार, नातागोताबाटै यस अभियान सञ्चालन पहिल्यै शिक्षक हुँदा नै गर्दै आएको हुँ, अब वडामा भएको बजेट र केन्द्रबाट यस अभियानमा गएको सबै बजेटले तत्काल सुर्तिजन्य पदार्थ सेवनमा कर वृद्धि गर्ने र अनुगमन गर्ने काम थालनी गर्छु, त्यस्तै जनस्वास्थ्यमा पार्ने प्रभावको विषयमा जनचेतना समेत फैलाउँछु ।’
यता, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिहंले सुर्तिजन्य पदार्थ र जिनको विषयमा अध्ययन भैरहेको बताउनुभयो । उहाँले २८ प्रतिशत अर्थात ८४ लाखले चुरोट खाने गरेको र सरदर ५ बट्टा सेवन गर्दा ८ करोड ४० लाख धुवा उड्ने जानकारी दिनुभयो । ५ रुपैयाका दरले प्रति खिल्ली खर्च हुँदा प्रत्येक दिन ४२ करोड धुवामा उड्ने जसले वर्षमा १ खर्व ५३ अर्व वर्षमा धुवामा उड्ने हुँदा यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयो । ‘हामी गरिव छौं भन्छौं तर प्रत्येक वर्ष १ खर्व ५३ अर्व त उडाएर नै सक्छौ । के हामी गरिव हो ? कि मुर्ख ?’ उहाँले प्रतिप्रश्न समेत गर्नुभयो ।

सरकारले प्रत्येक पालीकामा पकेट हेल्थ फण्ड बनाउनुपर्ने, धुम्रपान रहितपालीका सूचक तय गर्ने र सबै पालीकामा कार्यक्रम लैजाउनुपर्नेमा जोड दिनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले १५५३ जनामा २८.३ जनाले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको जानकारी दिनुभयो । नेपालमा इलेक्टोनिक चुरोट पनि खान सुरु गरिएको पनि सुनाउनुभयो ।
रेस्पेक शान्तलाल मुल्मीले नेपालका सबै मन्त्रीहरु सुर्ति उद्योगको निकट रहेकोले उनीहरुकै अनुसार उद्योग चल्ने गरेको गुनासो व्यक्त गर्नुभयो । परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुस्कर नेपालले अघिल्लो वर्ष नै ७५ प्रतिशत बढाउन मन्त्रीस्तरीय निर्णय गरेर सिफारीस गरेता पनि सुर्ति नियन्त्रण निरिक्षकले प्रभावकारी रुपमा काम नगरेको भन्दै आक्रोस जनाउनुभयो ।
आन्तरीक राजस्व विभागका उप–निर्देशक शम्भू मरासैनीले सुर्तिजन्य पदार्थमा चुरोटको ३ उद्योग रेभिन्युमा करिब ५ प्रतिशत राष्ट्रिय रिभ्युनियु रहेकोले करको मात्र कुरा नभएको जनस्वास्थ्यसँग पनि जोडिएको बताउनुभयो । ‘यो मल्टीसेक्टर एप्रोजको विषय हो । तर हाम्रो समन्वय भएको छैन,’उहाँले भन्नुभयो । एसएसपि सन्दीप भण्डारीले कानुनमा भएका कुराहरुलाई कार्यान्वयनमा लैजानु महत्वपुर्ण रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका लोनिम दिक्षीतले ट्याक्स बढाउने भन्दा पनि चुरोटै नखाने बनाउनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सुर्तिजन्य पदार्थ नियन्त्रण सोचेअनुसार प्रगती हुन सकेको जनाउनुभयो । स्वास्थ्य अर्थशास्त्री देवी प्रसाद प्रसाइले नेपालमा खाना भन्दा सस्तो चुरोट रहेको राष्ट्रिय वाणिज्य बैंकको तथ्यांकले देखाएको भन्दै यसले पनि सेवनमा सहज बनाएको बताउनुभयो । उहाँले नेपालमा २० खिल्ली रहेको पाकेटलाई ४२७ पर्ने र भारतमा १० खिल्ली मात्रै रहेको पाकेटलाई २७४ रकम लाग्नै भन्दै अहिल्यै ६० प्रतिशतसम्म कर बढाउँदा पनि भारतिय चुरोट नआउने तर्क गर्नुभयो ।
यस्तै मुटुरोग विशेषज्ञ डा. प्रेम राज बैद्यले धुम्रपानको कारणले ५० प्रतिशत व्यक्तिमा मुटुको रोग भएको देखिएको बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थका कारण खुट्टाका नसा बिग्रिएर खुट्टै काट्नुपर्ने अवस्था पुगेको, हात समेत काट्नुपरेको उल्लेख गर्दै खाने व्यक्तिले जस्तो रोग लाग्छ भनेपनि नछोडेको बताउनुभयो । सुर्तीजन्य पदार्थ सेवनले शरिरमा २६ प्रकारको रोग निम्त्याउनुको साथै दिनमा एउटा खिल्ली चुरोट सेवनलाई ५० प्रतिशत स्टकको सम्भावना र सेवन गर्ने ५ मध्ये १ लाई अनिवार्य क्यान्सर हुने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन हेल्थ टिभी अनलाईनका प्रधान सम्पादक कल्पना आचार्यले गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्