काठमाडौं, बैशाख ४
नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्समाथी किर्तिमानी जित निकालेको छ । कुशल भुर्तेल र आसिफ शेखले शतकिय कीर्तिमानी साझेदारी गरेपछि नेपालले ९ विकेटको जित निकालेको हो ।
टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको थियो । डेब्यु गरिरहेका कुशल र आसिफले पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा गर्यो । यो साझेदारी ट्वान्टी २० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।
कुशलले ४६ बल खेली ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए । डेब्यु खेलमै नेपालका लागि सर्वाधिक रन बनाउने किर्तिमान समेत कुशलले बनाएका छन् । आसिफ ५४ रनमा अविजित रहे । उनले ३८ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे । विजयी छक्का प्रहार गरेका कप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाइ अविजित रहे ।
यसअघि नेदरल्यान्ड्सलाई सस्तोमा रोक्न सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लु आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शुन्यमा एलबीडब्लु नै आउट गरे ।
प्रतिक्रिया दिनुहोस्