पोखरा ।
प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ बाट नेत्रविक्रम चन्द विप्लवका १८ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राईसहित १८ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परे शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने बारे कास्की प्रहरीले अघिल्लो दिनमै थाहा पाइसकेको थियो। सोही सूचनाको आधारमा सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाएको थियो। प्रहरीको सूचनामा विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डरसहित नेताहरु अन्नपूर्ण गाउँपालिकामा हुने विशेष बैठकमा सम्बोधन गर्न आउने बताए पनि प्रहरीले निगरानी बढाएको थाहा पाएको उक्त टोली भने अन्नपूर्ण गाउँपालिका नै पुगेन।
नेकपाका कार्यकर्तालाई दिउँसो देखि नै घेरा बन्दी गरेको बताउने कास्की प्रहरीले साँझ ६ बजेतिर मात्रै १८ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभयो । ‘त्यो क्षेत्रमा गतिविधि बढेको हामीले यस अघि नै थाहा पाएका थियौँ,’ उहाले भन्नुभयो, त्यहि थाहा पाएर जिप्रकाबाट पठाइएको थियो। त्यहि गस्तीको टोलीले उनीहरुलाई घेराबन्दीमा पारेर पक्राउ गर्यो।’ विप्लवको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेरा हालेको थियो।
प्रतिक्रिया दिनुहोस्