जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार ०७:३०

उपाध्यक्षको राखेको यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा..


लहान, वैशाख २१ । जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराउनु भएको छ ।

आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालिका­१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता गराएको जानकारी दिनुभयो । सर्लाहीको विष्णु गाउँपालिका­४ निवासी उपाध्यक्ष बैठाले गत चैत्र ९ गते राति ११ बजेको समयमा सामाजिक सञ्जाल म्यासेन्जरमार्फत आफूलाई अश्लिल गालीगलौज गरेकाले आफ्नो दाम्पत्य जीवनमा धरापमा परेको नेतृ दासले जाहेरीमा उल्लेख गर्नुभएको छ ।

उपाध्यक्ष बैठाले मुलुकी अपराध फौज्दारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफा ११८ बमोजिम अभद्र व्यवहार गरेकाले यथाशीघ्र पक्राउ गरी कारबाही गर्न उहाँले मागसमेत गर्नुभएको छ । जाहेरी परेकाले यस बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो ।