जनता टाइम्स

२२ बैशाख २०७८, बुधबार १९:३८

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना


काठमाडौं, बैशाख २२ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि श्रैष्ठलाई आज पुनः अस्पताल लगिएको हो ।

आठ दिन अस्पतालमा उपचारपछि आइतबार मात्रै घर फर्कनुभएका कलाकार श्रेष्ठलाई भोलिपल्टै फेरि अस्पताल लगिएको हो ।
परिवारका सदस्यहरुका अनुसार अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लगिएको हो । श्रेष्ठ हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा उपचाररत हुनुहुन्छ ।

पूरै परिवारलाई नै कोरोना संक्रमण भएको मदनकृष्णले वैशाख ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । छातीमा सामान्य समस्या देखिएपछि श्रेष्ठलाई पहिलोपटक वैशाख १० गते मेडिसिटी अस्पताल लगिएको थियो । कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको उहाँकी छोरी सराना श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठ परिवारका बाँकी सदस्य छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सुधार भइसकेको छ ।