जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १२:३३

चोरीको मोटरसाइकल किनबेच गर्ने गिरोह पक्राउ


बारा, जेठ २७

बारामा प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले किनबेचमा संलग्न ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिकाका श्याम सुन्दर यादव, गुलसन प्रसाद यादव, सुरेश मुखिया बिन, धर्मेन्द्र मुखिया बिन र नन्दकिशोर सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बारागढी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो । एसपी भट्टराईका अनुसार पक्राउ परेकाहरुको साथबाट दुईवटा चोरीको मोटरसाइकल समेत बरामद भएको छ । पक्राउ परेको गिरोह संगठित रुपमा मोटरसाइकल चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।