काठमाडौं, जेठ १९
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ। हालका प्रावधानलाई केही खुकुलो पार्दै जेठ मसान्तसम्म निषेधाज्ञा थपिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो।
मंगलबार सम्पन्न उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञालाई १४ गते अघिको स्थितिमा कायम रहने जेठ मसान्तसम्म लम्ब्याउने निष्कर्ष निकालेको सीडीओ पराजुलीले जानकारी दिनुभयो । यद्यपि, निषेधाज्ञाबारे सम्पूर्ण निर्णय भने आज बस्ने सीडीओहरुको संयुक्त बैठकले गर्ने उहाँको भनाइ छ ।
उहाँका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइनेछ। विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने बताउँदै उहाँले निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर बेलुकातिरको समय दिइने बताउनुभयो ।
यसअघि यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । निषेधाज्ञा अवधिभर अन्य प्रावधान भने यथावत रहने छ । जसअनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो। एक महिना वितिसक्दा पनि संक्रमण आशातित रुपमा घट्न सकेको छैन।













प्रतिक्रिया दिनुहोस्