जनता टाइम्स

२८ जेष्ठ २०७६, मंगलवार १५:१३

दलित भनेर विवाह, व्रतबन्ध र पूजामा नबोलाउने गरिएको वडा सदस्यको गुनासो


खस्यौली, जेठ २८

रुपन्देहीको स्थानीय तहमा दलित महिला सदस्यका रुपमा निर्वाचित जनप्रतिनिधिले विवाह, व्रतबन्ध र पूजामा आमन्त्रण नगरेर जातीय विभेद गरेको गुनासो गरेका छन् । बुटवलमा हिजो लेखन र प्रकाशनका लागि मिडियासँग सम्बन्ध विस्तार कार्यशालामा उनीहरुले गैरदलित जनप्रतिनिधिलाई जस्तो आफूहरुलाई आत्सम्मान नभएको बताउनुभयो।

“हामीलाई समान अवसर दिने भनिएको छ तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जातीय विभेद भएको छ”, बुटवल उपमहानगरपालिका–१३ की वडा सदस्य सरस्वती परियारले भन्नुभयो । उहाँले भन्नुभयो, “कानूनमै अनिवार्य गरिएकाले हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भयौं तर समान अवसर पाएका छैनौँ ।”

बुटवल उपमहानगरपालिका–१६ की वडा सदस्य निरु विकले विगतको तुलनामा भन्दा अहिले विवाह, व्रतबन्ध र पूजामा निजी विषय बनाएर आमन्त्रण गर्न छोडेको उल्लेख गर्दै जातीय विभेदको कुनै विषयसँग तुलना हुन सक्दैन भन्नुभयो । अर्का जनप्रतिनिधि माया बराल विकले आरक्षण कोटाले अवसर प्राप्त भए पनि जिम्मेवारी नपाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

स्थानीय पत्रकार सोना खातिकले आफूमाथि भएको जातीय विभेदविरुद्ध जागरुक हुन आग्रह गर्नुभयो । पूर्व सभासद् विनोद पहाडीले जातीय विभेदको विषय राष्ट्रिय एजेण्डा हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सामाजिक विषयलाई अघि ल्याएर बहस गराउँने बताउनुभयो ।