काठमाडौं, जेठ २३
अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कृष्ण थापाले आफ्नो नातिको मायामोहमा परेर आफ्नै बेइज्जत गर्नुभएको छ । उहाँले एकेडेमीमा राख्ने यु–१३ का खेलाडी छनोटमा निःशुल्क कोटामा आफ्नो नाति नपरेपछि पदीय मर्यादा गुमाएरै एक जिम्मेवार व्यक्तिले अफिसियल पत्रलाई नै सार्वजनिक गरेर आफ्नो हैसियत देखाउनुभयो । उहाँले गएको २०७८ जेठ २१ गते शुक्रबार मध्यरात फेसबुकमार्फत एन्फा महासचिव इन्द्रमान तुलाधरको हस्ताक्षर रहेको खेलाडी छनोटको पत्र नै सार्वजनिक गरेर आफ्नो जिम्मेवारीको हद गुमाउनुभएको हो ।
उक्त पत्रमा उहाँलाई एकेडेमीमा राख्ने यु–१३ खेलाडी छनोटको संयोजकको जिम्मेवारी दिइएको उल्लेख थियो । बैशाख ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने अन्तिम चरणका छनोटमा समिति बनाएर खेलाडी छनोटको अन्तिम प्रतिवेदन बुझाउन भनिएको छ । ७१ जनाको खेलाडीको नाम छनोटमा उनै थापाको हस्ताक्षर रहेको उहाँलाई यहीँसम्मको जिम्मेवारी तोकिएको थियो ।
देशभरबाट छनोट भएका १ सय ६६ खेलाडीबाट पछि प्राविधिकहरुसँग बसेर शुक्रबारै एन्फाले ४२ जनाको नाम निकाल्यो । यसका लागि थापालाई पटक–पटक बैठकमा डाक्दा समेत नआएपछि विवाद चुलिँदै गयो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव तुलाधरले गरेको जुम मिटिङपछि प्राविधिक टोलीको सुझावअनुसार नै खेलाडीहरु छनोट गरिएको एन्फाले बताएको छ । मापदण्ड पूरा भएकाहरु रोलक्रमअनुसार छानिएका हुन् ।
आफ्ना भान्जाको छोरालाई पूर्ण छात्रवृत्तिमा राख्न जोड गरेका थापाले २१ जनाभित्र अटाउन नसकेपछि आक्रोशपूर्ण स्टाटस लेखेको एन्फाले जनाएको छ । आफू एन्फाको उपाध्यक्ष र छनोट समिति संयोजक हुँ भन्ने नै भुलेर आफ्नो हर्कत देखाउनुभएको छ । आफ्नै हजुरबुबा संयोजकमा रहँदा पनि पूर्ण छात्रवृत्ति दिँन नसक्दा आफन्तमा नराम्रो र लाज हुने भयले गर्दा आफ्नै पद दाउमा राखेर गिर्नु भएको हो ।
एक नातिका लागि उहाँले आफ्नो बेइज्जतमात्र होइन एन्फालाई नै बदनाम गर्ने गरी आक्रोस पोख्नुभएको छ । एन्फाले शुरुआती २१ जनालाई पूर्ण छात्रवृत्ति दिनेछ र बाँकीले आफ्नो खर्चमा तीन विभाग त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबका स्कुलमा आवद्ध हुनुपर्नेछ । यसअघि नै एन्फाले तीन विभागसँग एकेडेमी संचालनका लागि सम्झौता गरेको थियो ।
एकाएक हिजो (शनिबार) बिहानै उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा यू–१३ को अन्तिम छनोट शंकाको घेरामा रहेको भन्दै स्टाटस लेख्नुभयो । उहाँले आफु संयोजकलाई थाहा नभएको भन्दै छनोट प्रक्रियामा आपत्ति जनाउनुभयो । लगत्तै मोबाईलबाट स्क्रिन सट गरेर प्रारम्भिक रुपमा आफुले हस्ताक्षर गरेको ७१ खेलाडीको सूची फेसबुकमा राख्नुभयो । यसरी एन्फाकै उपाध्यक्षबाट छनोट प्रक्रियामा आपत्ती जनाएपछि छनोट प्रक्रिया विवादमा पर्यो ।
तीन वटा विभागीय टिममा युथ एकेडेमी बनाउने एन्फाको महत्वकांक्षी परियोजनाको खेलाडी छनोट प्रक्रियामै उपाध्यक्षले आपत्ती जनाउनुभएको हो । जबकि आफ्नो नाति पनि छनौटमा भएका मान्छेले नैतिकताका आधारमा समितिमा बस्नु हुँदैनथ्यो । तर उहाँले त्यो नैतिकता गुमाएर समितिमा नै रहनुभएको यसको फाइदा हुन्छ भन्ने सोचेर । उहाँले आफूलाई कुनै जानकारी नगराईएको र नियम विपरित अन्तिम छनोट गरिएकोमा आपत्ती रहेको जनाउनुभएको छ ।
एन्फाले यस पटक छनोट प्रक्रियालाई पारदर्शी बनाउन भन्दै प्राविधिक विभागका प्रमुख र विभागीय टिमका प्रमुखलाई छनोट प्रक्रियामा राखेको थियो । जसमा तीन विभागीय टिमबाट आएका प्रतिनिधिसहितको ग्रेडिङका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको थियो । छनोट प्रक्रियामा थापा स्वयं आफु समेत सहभागी बनेपनि अन्तिम सूची सार्वजनिक भएपछि आपत्ती जनाउनुभयो । ‘एन्फाको सबै काम विधान अनुसार हुनुपर्छ । अन्तिम चरणको छनोटमा जानकारी मलाई नआई नाम सार्वजनीक भएको छ, यो खारेज गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कसरी उत्पन्न भयो विवाद ?
एन्फाले जिल्ला, प्रदेश हुँदै करिब सय बढी खेलाडी प्रारम्भिक रुपमा युथ एकेडेमीका लागि छनोट गरेको थियो । अन्तिम चरणको छनोट बैशाख ६ देखि ९ गतेसम्म राखिएको थियो । चार दिनसम्म एन्फाका प्राविधिक विभागका प्रमुखसहित विभागीय टिमका प्रतिनिधिले खेलाडी संख्या ७२ मा झार्यो । सो टिममा प्राविधिक समितिका संयोजकको हिसाबले कृष्ण थापाले समेत हस्ताक्षर गर्नुभएको थियो ।
लगत्तै खेलाडीलाई मेडिकल परिक्षणमा राखियो । एन्फाको मेडिकल टिमले ७२ मध्य १८ खेलाडीलाई अयोग्य रहेको प्रतिवेदन दियो । बाँकी रहेका ५१ जनामा टेक्निकल टिमको ग्रेडिङका आधारमा खेलाडीको वरीयता निर्धारण गरियो । लिस्टमा रहेका सुरुवाती २१ जना खेलाडी निःशुल्क र त्यसपछिका २१ जना खेलाडी शुल्क तिरेर एन्फाको युथ एकेडेमीमा रहने भए । बाँकी खेलाडीलाई वैकल्पिक खेलाडीमा राखियो ।
एन्फाले निःशुल्क कोटाका २१ खेलाडी र पैसा तिरेर खेल्ने कोटाका २१ खेलाडीलाई चिठ्ठा हालेर तीन विभागीय टिममा आज जिम्मा लगाउँदैछ । कुनैपनि खेलाडी नआएको खण्डमा वैकल्पिक खेलाडीले अवसर पाउने भएका छन् । थापाले हस्ताक्षर गरेको प्रारम्भिक ७१ खेलाडीको सूचीमा भान्जाका छोरा छनोटमा परेका थिए । छनोट प्रक्रियामा भाग लिएर थापा पोखरा फर्किए । एन्फाले शुक्रबार खेलाडीको अन्तिम सूची सार्वजनिक गर्न बैठक आह्वान गर्यो ।
एन्फाका युथ डेभलपमेन्टका हेड नविन महर्जनले बैठकका लागि पोखरा रहेका उपाध्यक्ष थापालाई सूचना दिनुभएको थियो । उहाँले आफूले मेल पठाएको र फोन समेत गरेको दावी गर्नुभयो । त्यस्तै बैठकमा उपस्थित हुन जुम लिङ्क शेयर समेत गर्नुभएको थियो तर कारणबस बत्ति नभएको भन्दै थापा उक्त बैठकमा आउनुभएन । बैठक सकिएलगत्तै महर्जनले खेलाडीको सूची प्राविधिक समितिका प्रमुख थापालाई मेल गर्नुभएको थियो ।
थापाले प्राप्त गरेको सूचीमा नातिको नाम २१ मा पर्यो, युथ एकेडेमीको निःशुल्क कोटा परेन । अब सशुल्क कोटामा मात्र भान्जाले एकेडेमीमा बस्न पर्नेभएपछि यस विवाद उत्पन्न भएको हो । यसपछि थापाले एन्फामा छनोट टिम र पदाधिकारीहरुलाई फोन गरेर भान्जालाई निःशुल्क कोटामा राख्न आग्रह समेत गरेको एन्फ उच्च स्रोतले बताउँछ । तर तमाम दबाबका बाबजुत उपाध्यक्षको कुनै जोर चलेन, लगत्तै आफ्नो आग्रहअनुसार नहुने भए अन्तिम सूचीमा हस्ताक्षर नगर्ने अडान लिन थाल्नुभयो । एन्फा छनोट टिमले उक्त थापाको आग्रह अस्विकार गरेपछि राति करिब १२ बजे महासचिवद्धारा हस्ताक्षरित चिठी फेसबुकमा हाल्दै छनोटमा आपत्ती जनाउनुभयो ।
यता एन्फा भने विभागीय विद्यालयको विद्यार्थी भर्ना अन्तिम चरणमा पुगेका कारण खेलाडीको सूची चाँडै सार्वजनिक गर्नुपर्ने दबाबमा थियो । सोही अनुसार शुक्रबार नाम टुङ्गो लगाउनुपर्ने समयको दबाब एन्फासमक्ष थियो । तर आफ्नो सम्पुर्ण छनोट प्रक्रियामा मौन रहेका छनोट समितिका संयोजक थापा निःशुल्क कोटामा नाति नपरेपछि सामाजिक सञ्चालमा रडाको सुरु गरेको देखिन्छ । तर थापा आफै खेलाडी छनोटमा धाँधली गरेको आरोप भने लगाउँदै आउनुभएको छ । जिम्मेवारी लिएर प्राय पोखरामै बस्ने उपाध्यक्षले आफूलाई बैठकमै नबोलाईएको झुटो दाबी गर्नुभएको हो ।
एन्फाको कहाँ गल्ती
एन्फाले छनोट समितिका संयोजक थापाबाट हस्ताक्षर नगराएर खेलाडी छनोटको सूची सार्वजनिक गर्यो । आफुले हस्ताक्षर नगरेको सूची सार्वजनिक भएको भन्दै थापाले आपत्ती जनाउनुभयो । उहाँले यो विधानसम्मत र प्रक्रिया बाहिर गएको आरोप लगाउनुभयो । एन्फाले भने उपाध्यक्ष थापा बोलाएको बैठकमा उपस्थित नभएको उल्लेख गरेको छ । विभागीय टिमको युथ एकेडेमीमा खेलाडीको सुचि बुझाउन ढिलाई भएका कारण चाँडो निर्णयमा पुग्नु परेको निष्कर्श एन्फाका पदाधिकारी सुनाउँछन् । एन्फाले छनोट प्रक्रियामा कुनै पक्षपात नभएको भन्दै आज निष्पक्ष रुपमा तीन विभागको एकेडेमीमा खेलाडी पठाईने बताएको छ ।
उसो त एन्फामा खेलाडी छनौट विवादित बनेको यो पहिलो घटना भने हैन !
कर्मा छिरिङ्ग शेर्पाको नेतृत्व नै आएपछि केहि समय अगाडी अन्डर–१५ का खेलाडी छ्नौट गर्दा प्रारम्भिक लिस्टमा नामै नभएका एन्फा वरिष्ठ उपाध्यक्ष पन्कज बिक्रम नेम्वाङका छोरा पाथुहाङ नेम्वाङलाई टिममा राखेर प्रारम्भिक लिस्टमा नाम भएका रोसन नेपाललाई हटाइएको थियो । उक्त छनोटप्रति एन्फाको तिब्र बिरोध भएको थियो ।
थापाले अहिलेको शेर्पा कार्यसमितिबाट पुनः बाहिरिने लक्षण देखाएउनुभएको हो । गणेश थापा अध्यक्ष हुँदा पनि यसरी नै उहाँ पैसाको लेनदेन नमिलेपछि बाहिरिनुभएको थियो । गणेशले पनि मिडियाकर्मीहरुलाई कृष्णको चरित्रबारे समय–समयमा चर्चा गर्ने गर्नुभएको छ । अहिले आएर सानो विषयलाई निहुँ बनाएर थापा आफैले आफ्नो बदनाम गरेको एन्फाका पदाधिकारीहरुको बुझाइ छ ।
एन्फाको बढी सुबिधा उपभोग गर्नेमा थापाको नाम नै अगाडि
एन्फामा आएपछि सबैभन्दा बढी सुबिधा उपभोग गर्नेमा थापाको नाम नै अगाडि आउने गरेको छ । उपाध्यक्ष पदमा रहेका थापाले कहिले प्रदेश लिग संयोजन गरे बापत, कहिले म्याच कमिस्नरको भूमिकामा रहेर भत्ता बुज्ने गरेको आरोप छ । कास्कीको हेम्जामा स्थाइ घर भएका थापाले हरेक पटक आफ्नो कामको लागी देशको संघीय राजधानी काठमाडौंमा आउँदा समेत इन्धन, खाना, खाजा बापतको भत्ता एन्फाबाट नै लिने गरेको एन्फाको उच्च स्रोत बताउँछ ।
एन्फाका पुर्ब अध्यक्ष गणेश थापाको पालामा समेत पटक–पटक विवादित हुँदै आएका उपाध्यक्ष थापा एन्फा अध्यक्ष कर्मा छिरिङ्ग शेर्पासँग पटक–पटक विवाद गर्दै पुनः रहस्यमय तरिकाले मिल्ने गरेको स्रोत बताउँछ । आफू अनुकुल र आफुले लाभ लिन सक्दा एन्फा अध्यक्ष नजिक रहने र लाभ लिन नसकेको अवस्थामा अर्का वरिष्ठ उपाध्यक्ष पन्कजबिक्रम नेम्वाङ नजिक हुन पुग्ने गरेका थापाले यो ३ बर्षे कार्यकालमा खासै देखिने गरी फुटबलमा कुनै काम नगरेको
एन्फाका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो ।
उक्त एन्फा पदाधिकारीले थप्नुभयो,‘फुटबलको विकासको लागि निर्वाचित भएर आउनुभएको उहाँ अनुभवि र राष्ट्रका लागि योगदान गरेको व्यक्तिबाटै आफन्त नपर्दा अन्य छनौटमा परेका खेलाडीहरुलाई नै अपमानित हुने गरी सामाजिक सञ्जालमा लेख्नु निश्चय पनि राम्रो कुरा होइन, उहाँ आफै जिम्मेवार व्यक्तित्व, उपाध्यक्ष जस्तो पदमा भएको व्यक्तिले बैठकको माग गरेर समितिमा नै कुरा राख्नुपर्थ्यो । यो उहाँको अति नै अव्यवहारिक र केटाकेटीपन देखियो ।’
प्रतिक्रिया दिनुहोस्