जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १५:४६

प्रधानमन्त्री फर्किएपछि लोकसेवाको विज्ञापनबारे निर्णय हुन्छ : प्रचण्ड


चितवन, जेठ २९

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय हुने जानकारी दिनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले भरतपुरमा आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सो जानकारी दिनुभएको हो ।

केही दिनअघि संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको बिज्ञापन रद्ध गर्न निर्देशन दिएपछि नेकपाभित्रै बिवाद देखिएको छ । समितिमा रहनुभएकी सभापति शशी श्रेष्ठले नै संबैधानिक आयोगको काम रद्ध गर्न निर्देशन दिएपछि समितिमा रहेका नेकपाकै सांसदहरु असन्तुष्ट बनेका थिए । केही नेताले सरकारलाई देखाइ दिन यस्तो काम गरेको जानकारी पाएपछि सोही दिन अध्यक्ष प्रचण्डले सभापति श्रेष्टसहित नेकपाकी नेतृ तथा समितिका सदस्य पम्फा भुसाललाई निवासमै बोलाएर हप्काउनु भएको थियो ।

अध्यक्ष प्रचण्डले बिना परामर्श यति गम्भीर निर्णय लिन कस्ले उचाल्यो भन्दै बढता नहुनसमेत निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बिदेश भ्रमणमा रहेको बेला समितिले दुई अध्यक्षबीचमै समस्या आउने गरी निर्देशन दिएपछि उहाँले समितिका सभापति र सदस्यहरुलाई गलत काम नगर्न निर्देशन दिनुभएको थियो । सोहीअनुसार उहाँले आज प्रधानमन्त्री फर्केपछि लोकसेवाको बिज्ञापनको बिषयमा छलफलपछि निर्णय हुने जानकारी दिनभुएको हो ।

‘प्रधानमन्त्री फर्कैपछि लोकसेवाको बिज्ञापनको बिषयमा निर्णय हुन्छ, यस्मा कोही उत्ताउनलो हुन जरुरी छैन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले मिडिया काउन्सिल विधेयक र गुठी विधेयकको बिषयमा पनि सरोकारवालासँग परामर्श गरी आवश्यक परिमार्जन हुने संकेत दिनुभयो । तयारी राम्रो नहुँदा विवाद आएको उहाँको भनाई थियो । गृहकार्य राम्रो नहुँदा कमी भएको जनाउँदै उहाँले यसतर्फ सरकार, पार्टी सतर्क रहेको भएको भन्दै सबैको सहमतिबाट विधयेक परिमार्जन गर्ने प्रचण्डको भनाई थियो । ‘जति गृहकार्य हुनु पर्ने हो, त्यो नभएकै हो, सबैको सहमतिमा आवश्यक परिमार्जन गरिनेछ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

यस्तै आफ्नै निर्वाचन क्षेत्र रहेको चितवनमा निमार्ण हुन लागेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बजेटका कारण निमार्ण नरोकिने पनि प्रष्ट पार्नुभयो । रंगशाला निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै उहाँले रंगशाला निमार्ण राष्ट्रिय गौरबको आयोजना भएकाले सरकारले सहयोगका लागि नीति नै बनाएको प्रष्ट पार्नुभयो । रंगशाला निमार्णका लागि बजेट अभाव भएमा सरकारले सहयोग गर्ने घोषणा पनि प्रचण्डले गर्नुभयो ।

‘चन्दाले मात्रै राष्ट्रिय गौरबसँग जोडिएको रंगशालालाई प्रोत्साहन गर्ने भन्ने नीतिगत निर्णय गरेर सहयोगको आधार तयार गरेको हो, प्रचण्डले भन्नुभयो, ‘रकम पुगेन भने सरकारले सहयोग गर्छ।’