जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार ००:००

इलाममा रित्तियो विप्लवको समुह, जिल्ला इन्चार्जनै नेकपामा प्रवेश


इलाम

नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको इलाम जिल्ला इन्चार्जसहित चार जना कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।

प्रहरीले पक्राउ गरेका इलाम जिल्ला इन्चार्जसहित चारजना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालय झापाले बुधबार धरौटीमा रिहा गरेलगतै उनीहरूले एक विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका थिए । त्यसपछि उनिहरु नेकपा प्रवेश गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा ताप्लेजुङ मौवा खोला गाउँपालिका १ हाल दमक नगरपालिका २ बस्ने ३२ वर्षीय विजय दर्नाल (विप्लव नेतृत्वको इलाम इञ्जार्च), अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य, बुद्धशान्ति गाउँपालिका २ बस्ने ३८ वर्षीय गणेशकुमार विश्वकर्मा (पार्टीको एरिया सदस्य) र दलित मुक्ति मोर्चाको झापा जिल्ला अध्यक्ष, ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका १ बस्ने २८ वर्षीय फुर्वा शेर्मा र सोही ठाउँका ३० वर्षीय विदुर शेर्पा (पार्टीका एरिया) रहेका छन्।

उनीहरूले जारी गरेको विज्ञप्तिमा पार्टीले लिएको मार्गदर्शन र विचारलाई आत्मासाथ गर्दै अगाडि बढिरहेको अवस्थामा हाल त्यो पार्टीले विध्वंसात्मक काम गरेको हुनाले त्यसले लिएको लाइन र विचार प्रति हाम्रो असमर्थ रहेको हुनाले विप्लव नेतृत्वको नेकपा पार्टीबाट आजैकै मितिबाट पार्टी परित्याग गरेको छु भन्ने उल्लेख गरिएको छ। नेकपामा प्रवेश गरेका उनीहरूलाई नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, जिल्ला सदस्यद्वय नरेश सन्जेल, असारु राजवंशी लगायतले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।