जनता टाइम्स

१७ असार २०७८, बिहीबार २१:३६

एनआरएन यूके अध्यक्षका दुई प्रत्यासी दीपक र रोजिनाबीच पचास हजार पाउण्डमा मोलमोलाई


लण्डन, १७ असार । गैरआवासीय नेपाली संघ, यूकेको एक महिनापछि हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका दीपक श्रेष्ठ र रोजिना प्रधान राईबीच मोलतोल हुन थालेको रहस्य खुलेको छ । दीपकले रोजिनालाई उम्मेदवारी नदिन आग्रह गरेपछि पैसाको मोलमलाई शुरु भएको विश्वस्त स्रोतले बताएको छ ।

रोजिना एनसीसी यूकेकी महिला उपाध्यक्ष हुनुहुन्छ भने दीपक इङ्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष हुनुहुन्छ । एनसीसी यूकेको नयाँ नेतृत्व चयनका लागि जुलाई ३१ मा हुने गरी निर्वाचनको मिति तोकिएको छ । २०२१–२०२३ कार्यकालका लागि अहिलेसम्म तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकामध्ये दुइ कार्यकाल उपाध्यक्ष भै सकेका प्रेम गाहा मगरको संभावना बलियो देखिएपछि रोजिना र दीपकमध्ये एक जनालाई उम्मेदवारी छाड्न चर्को दबाब परेको छ । प्रेम गाहा मगरविरुद्ध उम्मेदवारी घोषणा गरेका दीपक र रोजिना मध्ये प्रेम गाहासँग प्रतिस्पर्धा गर्न एक जना मात्रै उम्मेदवार उठाउने सो पक्षको तयारी छ । रोजिनालाई उम्मेदवारी फिर्ता गराउन दीपकले सबै हत्कण्डा अपनाएको स्रोत बताउछ ।

रोजिना भन्दा आफू बलियो भएको दीपकको दाबी छ । अधिवेशनलाई लक्षित गरेर खोलिएको सदस्यता अभियान जुन १४ मा सकिएपछि उम्मेदवारहरु टिम निर्माण गर्न थालेका छन् । प्रेम गाहा विरुद्ध चुनाव लड्न दीपक र रोजिनाबीच गठबन्धन गर्ने तयारी पनि भएको छ । एनआरएन युकेमा करिव एघार हजार ६ सय जनाले सदस्यता आवेदन दिएका छन् । स्रोतका अनुसार, दीपकले रोजिनालाई उम्मेदवार नबन्न दबाब दिनुभएको छ । तर, रोजिनाले भने सदस्यता अभियान सञ्चालनका क्रममा ठूलो रकम खर्च भइसकेको भन्दै आफूले खर्च गरेको रकम प्राप्त भएमा उम्मेदवारी नदिने तयारी गर्नुभएको छ ।

उम्मेदवारी फिर्ता लिन रोजिनाले पचास हजार पाउण्ड मागेको वार्तामा सहभागी एक सदस्यले जानकारी दिनुभयो उहाँ भन्नुहुन्छ दीपक र रोजिनाको समूहबीच एक सातादेखि पैसाको मोलमोलाई भइरहेको छ । पहिले पचास हजार पाउण्ड माग गर्नुभएकी रोजिनाले आफूले पाँच हजार सदस्य बनाएको दाबी गर्नुभएको छ ।

यूकेमा एक सदस्यका लागि आवेदन शुल्क दश पाउण्ड तोकिएको छ । आफूले बनाएका सदस्यहरुको पैसा आफूले तिरिदिएको र सदस्यता अभियान सन्चालन गर्दा अतिरिक्त खर्चसमेत भएको रोजिनाको दाबी रहेको छ । पछिल्लो वार्तामा भने रोजिनाले पैंतीस हजार पाउण्ड पाएमा उम्मेदवारी नदिने संकेत गर्नुभएको छ । ‘अहिले ३५ हजारमा कुरा भइरहेको छ, अझै केही घटाउने प्रयास छ,’ वार्तामा सहभागी एक सदस्यले बताउनुभयो । रोजिना र दीपकबीच मेलमिलाप गराउन सके प्रेम गाहा मगरसँग प्रतिस्पर्धा सहज हुने भन्दै एनआरएन युकेकै केही अगुवाहरुले पनि यी दुई प्रत्यासीलाई मिलाउने प्रयासमा जुटिरहेका छन् । आईसीसीमै रहेका केही व्यक्तिहरुले दीपक र रोजिनाबीच मिलाप गराउने प्रयास गरिरहेका छन् । आर्थिक विषयमा रोजिनाको विगत पनि विवादास्पद छ । रोजिनाले सञ्चालन गरेको रोजिहिरा फाउण्डेसनको आर्थिक श्रोतका बारेमा लण्डनमा समय समयमा चर्चा हुँदै आएको छ ।

एनआरएनको सदस्यता लिन सम्बन्धित व्यक्तिले नै तोकिएको शुल्क अनलाइन माध्यमबाट बुझाउनुपर्ने प्रावधान छ । तर, सर्वसाधारण सदस्यले बुझाएको रकमका नाममा नेतृत्वका आकांक्षीहरुबीच भएको मोलमोलाई सामाजिक चरित्र विपरीत भएको भन्दै आलोचना हुन थालेको छ । गत मार्च २२ मा बसेको एनसीसी यूके कार्यसमिति बैठकले अप्रिल १ बाट सदस्यता खुला गर्ने र जुलाई ३१ मा निर्वाचन गर्ने निर्णय गरेको थियो । सो निर्णय लगत्तै दीपक र रोजिनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । निर्वाचन हुन एक महिना बाँकी रहँदा रोजिनाले बार्गेनिङ शुरु गर्नुलाई उम्मेदवारी घोषणाका नाममा अनियमित तरिकाले पैसा कमाउने उहाँको नियत देखिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

रोजिनालाई केही पैसा दिएर भएपनि उम्मेदवार बन्नबाट रोक्न दीपकले निकै कडा प्रयास गरिरहनुभएको छ । तर, रोजिनाले धेरै माग गरेको भन्दै दीपक तत्काल निर्णयमा पुग्न नसकेको स्रोतले बतायो । पाँच, दश हजार पाउण्डमा कुरा मिलाउने र प्रेम गाहा मगरकाविरुद्ध एक्लो उम्मेदवार बन्ने चाहना दीपकको रहेको बताइएको छ । सदस्यता अभियानका क्रममा रोजिना र दीपकले भन्दा बढी सदस्य प्रेम गाहा मगर र उहाँका समर्थकले बनाएको पाइएपछि जसरी पनि प्रेमलाई पराजित गर्ने उद्देश्य अनुसार रोजिना र दीपकको गठबन्धन बन्न लागेको हो । स्मरणीय छ, रोजिना र दीपककै कारण सदस्यताको म्याद चार दिन थप गरिएको थियो । यसअघि सदस्यताका लागि जुन १० सम्मको मात्रै समय रहेकोमा आफूहरुले कम सदस्य बनाएको भन्दै रोजिना र दीपककै आग्रहमा कार्यसमितिले चार दिन म्याद थप गरेको थियो ।