जनता टाइम्स

२० असार २०७८, आईतवार ०९:४१

श्रीमानको हत्यापछि सजाय माफी पाएर चर्चित महिला को हुन ? के थियो घटना ?


काठमाडौं, एजेन्सी । गही साता फ्रान्सको एक अदालतले एक महिलाको विषयमा गरेको फैसला विश्वभरी नै चर्चाको विषय बन्यो । अदालतले ती महिलाले आफ्ना श्रीमानको हत्या गरेको भए पनि अब उनी जेलमा बस्नु नपर्ने भन्दै सजाय माफ गरिदियो । अदालतको यौ फैसलासँगै विश्वभरी चर्चामा आएकी ती महिलाको भेलोरी बेकोट हुन । अदालतले भेलोरीलाई रिहा गर्ने आदेश दिएपछि यो फैसलाको व्यापक रुपमा स्वागत गरियो ।

भेलोरी बेकोट सानैदेखि धेरै समस्याहरुसँग जुध्नुपरेको थियो । उनका मातापिता १९९२ मा नै एक अर्कासँग छुट्टिएका थिए । भेलोरीकी आमालाई मदिराको लत थियो र उनी निकै हिंस्रक पनि थिइन । भेलोरीकी आमा व्यवसायी थिइन् । पतिसँग छुट्टिएपछि उनको सम्बन्ध डेनियल पोलेट नामका व्यक्तिसँग सुरु भयो । डेनियल डिसेम्बर १९९२ देखि नै भेलोरी र उनकी आमाको साथमा बस्न थाले ।

अल जजीराका अनुसार साथमै बस्ने क्रममा डेनियलले १२ वर्षकी भेलोरीलाई बलात्कार गरे । डेनियललाई १९९६ मा ४ वर्षको जेल सजाय सुनाइएको थियो । तर, अढाइ वर्षपछि नै डेनियललाई छाडियो त्यसपछि फर्केर फेरि डेनियल त्यहीँ आए र भेलोरीलाई पुनः बलात्कार गर्न थाले । भेलोरी १७ वर्षको उमेरमै गर्भवती भइसकेकी थिइन् । उनकी आमाले भेलोरीलाई घरबाट निकालिदिइन् । त्यसपछि डेनियलले भेलोरीसँग बिहे गरे ।

बेलोरी र डेनियलका ४ छोराछोरी छन् । भेलोरी र डेनियलको बिहे १८ वर्षसम्म चल्यो र २०१६ मा भेलोरीले गोली हानेर डेनियलको हत्या गरिदिइन् । खासमा डेनियलले भेलोरीलाई वेश्यावृत्तिको धन्दामा धकेलिसकेका थिए । उनी १४ वर्षसम्म यो धन्दामा रहिन् । डेनियलले भेलोरीलाई बन्दुक देखाएर उनलाई मारिदिने धम्की दिइरहन्थे । भेलोरी वर्षौंसम्म पहिले सौतेनी पिता त्यसपछि पतिको रुपमा डेनियलको यातना सहिरहिन् । यति लामो समयसम्म सहेर बसेकी भेलोरीले डेनियललाई मार्ने निर्णय गर्नुको पछाडि खास कारण थियो ।

भेलोरीका वकिलले अदालतलाई बताएअनुसार २० वर्षसम्म डेनियलको यातना सहेर बसेकी भेलोरीले जब डेनियलले उनकी छोरीलाई पनि वेश्यावृत्तिको धन्दामा लगाउन खोजेको थाहा पाइन, त्यसपछि उनले डनियललाई मार्ने निर्णय गरेकी थिइन् । १३ मार्च २०१६ मा भेलोरीलाई एक ग्राहकले बलात्कार गरेका थिए । त्यही दिन भेलोरीले आफ्ना पतिको टाउकोमा गोली हानेर हत्या गरिदिइन् । यो पेस्तोल डेनियलले आफ्नो गाडीमा लुकाएका थिए ।

डेनियलको हत्या गरेपछि भेलोरीले आफ्ना २ छोरा र छोरीका ब्वाइफ्रेण्डसँग मिलेर डेनियलको लाश ठेगान लगाएकी थिइन् । भेलोरीलाई २५ जुन २०२१ मा ४ वर्षको जेल सजाय सुनाइएको थियो तर जनताको विरोधपछि उनको सजायको ३ वर्ष सस्पेन्ड गरिएको थियो । भेलोरीले पहिले नै सुनुवाइ भन्दा अगाडि थुनामा एक वर्ष बिताइसकेकी थिइन् । त्यसैले अदालतले भेलोरीको सजाय पूरा भइसकेकोले अब उनी जेलमा बस्नु नपर्ने र घर जान स्वतन्त्र रहेको बतायो । उनको रिहाइको लागि ७ लाखभन्दा धेरैले याचिकामा अस्ताक्षर गरेका थिए ।