जनता टाइम्स

३१ जेष्ठ २०७६, शुक्रबार १७:५५

जंगली च्याउ खाएका थप ४ जनाको मृत्यु


काठमाडौं ।

जेठ २४ गते च्याउ खाएर गम्भीर बिरामी भएका पाल्पा निस्दी–३ का थप चार जनाको उपचारका क्रममा मृत्यु भएको छ। केही दिनअघि जंगलबाट ल्याएको विषालु च्याउ खाएर गम्भीर बिरामी भएकामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

शनिबार बिरामी भएर नवलपुरस्थित मध्यविन्दु अस्पतालमा सामान्य उपचारपछि चितवनस्थित विभिन्न अस्पतालमा उनीहरूको उपचारको क्रममा दु्ईजना बालिकाको मृत्यु भएको थियो । निस्दी गाउँपालिका–३, सार्कीडाँडाका ९ वर्षकी निर्मलासिंह ठकुरी र ४ वर्षकी विष्णु सिंह ठकुरीको २५ गते मृत्यु भएको थियो। यस्तै, ७ वर्षका सुमनसिंह ठकुरी, १४ वर्षकी निरुता, १२ वर्षकी निसा, ४५ वर्षका पूर्णबहादुर खाम्चाको काठमाडौंका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य चारजनाको काठमाडौंमै उपचार भइरहेको छ । २९ वर्षकी दानमाया सिंह, ३० वर्षकी धनकुमारी सिंह, ३६ वर्षकी चनकुमारी खाम्चा र १५ वर्षकी विमला खाम्चाको अवस्था अझै गम्भीर छ । च्याउ खाएर बिरामी भएर उपचारपछि ८० वर्षका प्रेमबहादुर ठकुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।