जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १९:३९

एनआरएनए स्पेनका युवा संयोजकमा गजुरेलको उम्मेद्वारी, यस्तो छ योजना


मनिषा लामिछाने, स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको यही जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा उम्मेदवारी दिनुभएको छ । हाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष समेत रहेका गजुरेलले एनआरएनएको छवी बढाउन युवा संयोजकमा उम्मेद्वारी दिनुभएको हो ।

समाजलाई गोलबद्ध गराउँदै खबरदारीसहित परिवर्तनको आशा बोक्नुभएका गजुरेलको पुर्खौली थलो नुवाकोट हो भने काठमाडौं गोठाटारका स्थायीबासी हुनुहुन्छ । विगत ६ वर्षदेखि स्पेनमा बसोबास गर्दै आउनु भएका गजुरेलले नेपालमा हुँदा एभिन्युज टिभी, हिमालय टिभी, न्युज २४ टिभी, माउन्टेन टिभी, आर्थिक अभियान राष्ट्रिय दैनिक, नेपाल समाचारपत्र दैनिकलगायत विभिन्न एफएम रेडियो तथा स्थानिय पत्रिकाहरुमा पत्रकारिता गर्नुभएको छ । ६ वर्षे अवधिमा पनि उहाँले स्पेनमा रहेका नेपालीहरुको समस्या र अधिकारका लागि खबरदारी गर्दै निरन्तर कलम चलाइरहनु भएको छ । विदेशी भूमीमा पनि उहाँले नेपाली बीचको एकता र अधिकारका लागि सक्रिय रुपमा काम गरिरहेको कारण नै युवा संयोजकमा उम्मेद्वारी दिएको बताउनु भयो ।

यस पटक भने सामाजिक संस्थामा भएको चरम राजनीति, दलगत स्वार्थपूर्तिका कामहरुविरुद्ध एनआरएनए स्पेनलाई गोलबद्ध गरी समाजलाई एकताको सन्देश दिनका लागि नै आफूले उम्मेदवारी दिएको गजुरेलको भनाई छ । उहाँले नेपालमा रहँदा पनि विभिन्न समाजिक संघ संस्थामा रही निस्वार्थ भावनाले सहयोग गर्दै सामाजिक उत्तरदायित्व बहन गर्नुभएको थियो । समाजलाई खबरदारी गर्न लामो समय पत्रकारिता पेशामा कलम चलाउँदैै आउनुभएका गजुरेलले स्पेनका विभिन्न सामाजिक संघसंस्थामा रहेर पनि सामाजिक काममा अग्रणी भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

एनआरएनएलाई आर्थिक रुपमा बलियो, दिगो र पारदर्शी बनाउन आफुले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । एनआरएन समुदाय केन्द्रित कार्यक्रम नभएकोले यसले युवा पुस्ता तथा बालबालिकालाई आकर्षित गर्न नसकेको भन्दै उहाँले आफूले सिङ्गो टिमसँग मिलेर स्पेनमा बसोबास गर्दै आइरहेका नयाँ नेपाली पुस्ताका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । गजुरेलले आगामी जुलाई २६ तारिकमा अनलाइन माध्यमबाट हुने एनआरएनए स्पेनको निर्वाचनमा युवा संयोजक खुल्ला पदमा आफूलाई मतदान गरी आफूले अघि सारेका योजनाहरु पुरा गर्ने बाटो खोलि दिन पनि आग्रह गर्नुभएको छ ।